Sagun Khabar
पालिका चुनाव : बैतडीका शीर्ष नेताहरुले गुमाए आफ्नै पालिका 

बैतडी –वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम आएपछि अहिले यसको बिश्लेषण गर्न थालिएको छ । गएको स्थानीय तहको निर्वाचनको परिणाम भन्दा यस पटक जिल्लामा फरक परिणाम आएको छ । 

जिल्लाको पुर्चौडी नगरपालिकालाई माओवादीको आधार क्षेत्र मानिएको थियो । सो नगरपालिकामा माओवादी केन्द्रले एक वडा बाहेक अरुमा जित निकाल्न सकेन् । माओवादीका जिल्ला इन्चार्ज एवं केन्द्रिय सदस्य नरेन्द्र कुँवर (विजयसुन्दर) र माओवादी केन्द्रका प्रदेश कमिटि उपाध्यक्ष रणबहादुर कुँवरको गृह पालिका पुर्चौंडीमा माओवादी निकै कमजोर देखिएको हो । गएको स्थानीय तहको निर्वाचनमा मेयर र उपमेयर दुवै जितेको माओवादीले अहिले दुवै गुमाएको छ । त्यहाँ नेपाली कांग्रेसको वर्चस्व देखिएको छ । 

यस्तै दशरथचन्द नगरपालिकालाई नेपाली कांग्रेसको गढ क्षेत्र मानिन्थ्यो । नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द, नेपाली कांग्रेसका पूर्व सचेतक विनयध्वज चन्द, पूर्वराज्य मन्त्री नरबहादुर चन्द र पूर्वसभापति शिवराज भट्टको गृह पालिका दशरथचन्दमा नेपाली कांग्रेस चार वडामा खुम्चिएको छ । गएको स्थानीय तहको निर्वाचनमा मेयर, उपमेयर सहित ८ ओटा वडामा कांग्रेसले जित निकालेको थियो । 

स्वास्थ्य सन्देश
Atrya hospital

जिल्लाको पाटन नगरपालिकामा एमाले कमजोर देखिएको छ । प्रतिनिधि सभा सदस्य एवं एमाले सुदूरपश्चिम प्रदेश कमिटि अध्यक्ष दामोदर भण्डारीको गृहपालिकामा एमाले कमजोर देखिएको हो । भण्डारीको गृह वडामा कांग्रेसले जित निकालेको छ । यस्तै मेयर र उपमेयरमा क्रमशः कांग्रेस र माओवादी केन्द्रले हात पारेका छन् ।

यस्तै एमाले जिल्ला अध्यक्ष सुरेन्द्र पालको गृह पालिका डिलाशैनीमा पनि एमाले कमजोर देखिएको छ । गएको स्थानीय तहको निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष र अधिकांश वडामा जित हात पारेको एमाले यो पाली दुई वडामा खुम्चिएको छ । सो पालिकामा एमालेबाटै विद्रोह गरेका स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी पालिका अध्यक्षमा निर्वाचित भएका छन् । 

एमालेका जिल्ला सह–इन्चार्ज एवं केन्द्रिय सदस्य लिलाधर भट्टको पालिका दोगडाकेदारमा भने एमाले बलियो बलियो देखिएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित एमालेले ८ वडा समेत आफ्नो पक्षमा पारेको छ । 

यस्तै नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश उपसभापति लोकराज अवस्थी र कांग्रेस बैतडीका उपसभापति खगेन्द्र धामीको गृह पालिका सिगासमा भने नेपाली कांग्रेस बलियो देखिएको छ । पालिका अध्यक्ष सहित ६  वडामा नेपाली कांग्रेसले जित हात पारेको छ । 

यस्तै एकीकृत समाजवादी पोलिटब्युरो सदस्य परमानन्द भट्ट, केन्द्रिय सदस्य नरेन्द्र बिष्ट र माओवादी केन्द्रका जिल्ला सहइन्चार्ज एवं प्रदेश सभा सदस्य प्रेमप्रकाश भट्ट (आदित्य)को गृह पालिका सुर्नयामा दुवै दल कमजोर देखिएका छन् । वैशाख ३० गते सम्पन्न पालिका चुनावमा यी दुई दलले चुनावी तालमेल गरेपनि नतिजा हात पार्न सकेन । यस्तै कांग्रेस उपसभापति बीरबहादुर बिष्ट र कांग्रेस सहसचिव दिपेन्द्रबहादुर चन्दको गृह पालिका पनि सुर्नया नै हो । त्यो पालिकामा कांग्रेसले पनि अपेक्षित परिणाम निकाल्न सकेन् । 

यस्तै सुर्नया गाउँपालिका राप्रपाका पूर्व महामन्त्री एवं पूर्व मन्त्री जयन्तबहादुर चन्दको गृह पालिका पनि हो । सुर्नयामा राप्रपाले एक वडामा जित हासिल गर्न बाहेक अन्य पदमा जित हासिल गर्न सकेन् । एमालेसंग चुनावी तालमेल गरेको राप्रपाले उपाध्यक्ष पदमा हार व्यहोरेको छ । 
 

प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update