Sagun Khabar
समाज रुपान्तरणमा बैतडीका किशोरकिशोरी 

बैतडी –बैतडीमा किशोरकिशोरीहरुले समाज रुपान्तरणका लागि पहल गर्न थालेका छन् । किशोरकिशोरी समूह गठन गरेर बालविवाह न्यूनीकरण र हानिकारक प्रचलन अन्त्यका लागि पहल गर्न थालेका हुन् । 

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए), भिएसओ र पिसवीनले सञ्चालन गरिरहेको रुपान्तरण कार्यक्रम अन्तर्गत किशोरकिशोरीहरुले बालविवाह अन्त्यका लागि पहल गरिरहेका छन् । बालविवाहले समग्र मानवको जीवनमा समस्या ल्याउने भएकाले आफूहरु बालविवाह अन्त्यका लागि पैरवी गरिरहेको किशोरी सहजकर्ता हरु भट्टले बताइन् । उनले भनिन् ‘हामीले अहिले प्रत्येक हप्ता कक्षा सञ्चालन गरिरहेका छौं । त्यो कक्षामा किशोरकिशोरीहरुलाई विभिन्न बिषयमा जानकारी दिने गरेका छौं ।’

स्वास्थ्य सन्देश
Atrya hospital

रुपान्तरण कक्षा सञ्चालन गरेपछि बालविवाह न्यूनीकरणमा अभिभावक समेत सचेत भएका सहजकर्ता प्रकाश बडुले बताए । उनले भने ‘हामी आँफैलाई पनि धेरै कुरा थाहा भएको छ । बालविवाह अन्त्यका लागि पनि किशोरकिशोरीहरुले पहल गरिरहेका छौं ।’

जिल्लाका सातओटा स्थानीय तहमा अहिले रुपान्तरण कार्यक्रम सञ्चालनमा रहेको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए । बालविवाह लगायतका हानिकारक प्रचलन अन्त्यका लागि रुपान्तरण कार्यक्रम सञ्चालनमा रहेको उनले बताए । किशोरकिशोरीहरुलाई सामाजिक तथा बित्तीय सीप प्रदान गर्नका लागि रुपान्तरण कार्यक्रमले पहल गरिरहेको शाहीले बताए । 

रुपान्तरण कार्यक्रमको माध्यमबाट आफूले गाउँगाउँमा सचेतना फैलाईरहेको किशोरी सहजकर्ता सरस्वती पोखरेलले बताइन् । उनले भनिन् ‘रुपान्तरण कार्यक्रम सञ्चालन भएपछि बालविवाह न्यूनीकरणमा ठूलो सहयोग पुगेको छ ।’

जिल्लाका विभिन्न स्थानीय तहमा किशोरकिशोरी सहजकर्ताहरुले बालविवाह अन्त्यका लागि छलफल कार्यक्रम सञ्चालन गरिरहेका पिसवीनका फिल्ड सुपरभाइजर कृष्णदत्त भट्टले बताए । 
 

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  १०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update