बैतडी –बैतडीमा २०६८ सालयता चितुवाको आक्रमणबाट २५ जनाको ज्यान गइसकेको छ । लगातार मानवबस्तीमा चितुवा पस्न थालेपछि मानवीय क्षतिमा वृद्धि हुँदै गएको हो । पहिला पहिला चितुवाले मान्छेको मारेको कमै सुनिएपनि २०६८ सालयता बैतडीको तल्लोसोराड क्षेत्रमा चितुवाले मानवीय क्षति गर्न थालेको स्थानीय लोकराज भट्टले बताए । साँझको समयमा मानवबस्तीमा चितुवा पसेर मानवीय क्षति गर्दै आएको उनले बताए । उनले भने ‘अहिले पनि चितुवाको डर कायमै छ । हाम्रो क्षेत्रमा चितुवाले धेरै मानवीय क्षति गरेको छ ।’
चितुवाले गएको शनिबारमात्रै मेलौली नगरपालिका २ का ६८ बर्षीय गणेशबहादुर चन्दमाथि आक्रमण गरेपछि फेरी चितुवाको त्रास बढ्न थालेको छ । चितुवाले चन्दमाथि आक्रमण गरेपछि अहिले गाउँमा त्रास फैलिएको स्थानीय समेत रहेका मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले बताए । उनले भने ‘अहिले गाउँमा चितुवाको त्रास फैलिएको छ । स्थानीयहरु त्रसित बनेका छन् ।’
१० बर्षको अवधिमा चितुवाको आक्रमणबाट २५ जना मानिसको ज्यान गइसकेको १० जना घाइते भएका डिभिजन वन कार्यालयको तथ्यांक छ । सुदूरपश्चिमका ९ ओटा जिल्ला मध्ये चितुवाबाट सबैभन्दा बढी प्रभावित जिल्लाको सूचीमा बैतडी रहेको डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलले बताए । उनले भने ‘सुदूरपश्चिमका अन्य जिल्लाको तुलनामा बैतडी बढी चितुवा प्रभावित जिल्लाको रुपमा रहेको छ । यो जिल्लामा मानव–चितुवाबीचको द्वन्द बढ्दै गएको छ ।’
यही अवधिमा ११ चितुवा समेत मारिएका छन् । मानिसको मात्रै नभएर मानव–चितुवा द्वन्दकै कारण ११ चितुवा मारिएका कँडेलले बताए ।
चितुवाको बासस्थान नष्ट हुनु, उनीहरुको आहार प्रजाति नष्ट हुनु लगायतका कारणले मानवबस्तीमा चितुवा पसेको हुन सक्ने वन्यजन्तु अनुसन्धानकर्मी धिरेन्द्रबहादुर चन्दले बताए । उनले भने ‘विभिन्न कारणले मानवबस्तीमा चितुवा पसेको हुन सक्छ । मुख्यकारण उनीहरुको बासस्थान र आहारा नष्ट हुनु नै हो ।’
चितुवाका लागि ४१ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको जंगल आवश्यक पर्ने भएपनि पछिल्लो समयमा वनजंगलको दायरा साँघुरो हुँदा चितुवा मानवबस्तीमा पसेको हुन सक्ने कँडेलले बताए । विस्तारै चितुवाको व्यवहार नै परिवर्तन भएर मानवबस्तीमै बढी पुग्ने गरेको देखिएको उनले बताए । उनले भने ‘चितुवाको बासस्थान संरक्षणका लागि स्थानीय सरकारहरुले पनि कार्यक्रम ल्याउनु आवश्यक रहेको छ । ठाउँ ठाउँमा वनजंगल नष्ट भएका छन् । वनजंगल संरक्षण गर्ने खालका कार्यक्रम ल्याउनु आवश्यक रहेको छ ।’




