
बैतडी – जिल्ला निर्वाचन कार्यालय बैतडीका विभिन्न ११ ओटा मतदानस्थलको नाम र स्थान परिवर्तन गर्न सिफारिश गरिएको छ । जिल्लाको आवश्यकता अनुसार ११ मतदानस्थलको नाम र स्थान परिवर्तन गर्न सिफारिश गरिएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले बताए ।
जिल्लामा १२९ ओटा मतदानस्थल र २ सय ५ ओटा मतदान केन्द्र रहेका छन् । आगामी निर्वाचनमा मतदानस्थल र मतदानकेन्द्र यथावत रहने फुँयालले बताए ।
११ ओटा मतदानस्थल मध्ये ६ ओटा नाम परिवर्तन गरिएको छ भने ५ ओटाको स्थान परिवर्तन गरिएको छ ।
दशरथचन्द नगरपालिका ५ को साविकको गाविस भवन मतदानस्थलको नाम परिवर्तन गरेर वडा नं ५ कार्यालय पल्लाचौंडाली राखिएको छ । यस्तै पञ्चेश्वर गाउँपालिका २ मा साविकको गाविस भवनको ठाउँमा वडा नं २ को कार्यालय, वडा नं ५ मा साविकको गाविस भवनको ठाउँमा वडा नं ५ को कार्यालय, वडा नं ६ मा साविकको गाविस भवनको ठाउँमा वडा नं ६ को कार्यालय नाम राख्न सिफारिश गरिएको छ ।
यस्तै सुर्नया गाउँपालिका वडा नं १ मा साविकको गाविस भवन गुर्केलीको ठाउँमा वडा नं १ को कार्यालय हटैराज नाम राख्न सिफारिश गरिएको छ । यस्तै पुर्चौंडी नगरपालिका वडा नं ७ मा साविकको गाविस भवनको ठाउँमा वडा नं ७ को कार्यालय नाम राख्न सिफारिश गरिएको छ ।
यस्तै ५ ओटा मतदानस्थलको ठाउँ परिवर्तन सिफारिश गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दशरथचन्द नगरपालिका वडा नं ८ को साविकको गाविस भवन त्रिपुरासुन्दरीमा रहेको मतदानस्थल स्वास्थ्यचौकी भवन त्रिपुरासुन्दरीमा राख्न सिफारिश गरिएको छ । यस्तै साविकको गुरुखोला गाविस भवनमा रहेको मतदानस्थल मणिलेक मावि गुरुखोला, मेलौली नगरपालिका २ को साविकको गाविस भवनमा रहेको मतदानस्थल धर्मघर मावि सलेना, दोगडाकेदार गाउँपालिका वडा नं ७ को साविकको गाविस भवनमा रहेको मतदानस्थल भुमेश्वर आधारभूत विद्यालय रिखाली र सिगास गाउँपालिका ४ कैलपाल आधारभूत विद्यालयमा रहेको मतदानस्थल वडा नं ४ को कार्यालयमा राख्न सिफारिश गरिएको छ ।
जिल्लाबाट सिफारिश भएका नाम र ठाउँ निर्वाचन आयोगले परिवर्तन गरेर फेरी जिल्लामा पठाउने जिल्ला निर्वाचन अधिकारी फुँयालले बताए ।