Sagun Khabar
बाजुराका सडक अवरुद्ध, दसैँको बेला यात्रुलाई सास्ती

बाजुरा- लगातारको वर्षाका कारण जेठ पहिलो सातादेखि अवरुद्ध बनेको बाजुरा साँफे–मार्तडी राजमार्ग चार महिना बितिसक्दा पनि खुलेको छैन। राजमार्गमा पर्ने बूढीगङ्गा नगरपालिकाको अम्कोटमा पहिरो नरोकिएपछि सडक खुलाउन समस्या भएको हो।

अम्कोटमा दसैँ अघि सडक सञ्चालन नहुने निश्चितजस्तै भएको छ । चार महिनासम्म पनि सडक सञ्चालन हुन नसक्दा समस्या भएको छ। सडक डिभिजन कार्यालय साँफेबगर, अछामले गत साउन २३ गते वैकल्पिक सडक खोल्नका लागि काम सुरु गरे पनि त्यो बीचमै रोकिएको छ।

स्वास्थ्य सन्देश
Atrya hospital

सडक भत्किएकै ठाउँबाट सडक खोल्न खोज्दा स्थानीयले काम गर्न रोकेका छन्। अम्कोटमा अवरुद्ध सडक पहिरो हटाउन खोज्दा स्थानीयले अवरोध गरेका हुन्। सडक सञ्चालनमा नआउँदा सदरमुकाम मार्तडीलगायत पूर्वी उत्तरी क्षेत्र, हुम्ला र मुगुका बासिन्दा यातायात सेवाबाट बञ्चित छन्। दसैँ तिहारका लागि घर आवत जावत गर्नेलाई सकस भएको छ।

चाडपर्वमा स्थानीय महँगीको मारमा परेका छन्। स्थानीय अर्जुनप्रसाद जैशीका अनुसार वैकल्पिक सडक खुलाउनका लागि जग्गा उपलब्ध गराए पनि उक्त कार्य बीचमै रोकिएपछि सडक खुलाउन नसकिएको हो। सडक डिभिजन कार्यालय साँफेबगरका प्रमुख विवश बस्नेतले वैकल्पिक मार्ग खोल्न आठ सय मिटर मात्र बाँकी रहेको बताए।

वैकल्पिक सडक खुलाउने क्रममा डोजर बिग्रेका कारण काम नभएको उनको भनाइ छ। सडकमा गएको पहिरो हटाएर यातायात पुनःसञ्चालन गर्न खोज्दा स्थानीयले अवरोध गरेको बस्नेतको आरोप छ । प्रमुख जिल्ला अधिकारी प्रकाशराज अधिकारीले तत्काल पहिरो गएको ठाउँमा सडक सञ्चालन गर्न पहल भइरहेको बताए।

विसं २०७६ यता बर्सातको चार महिना सडक अवरुद्ध हुँदै आएको छ। विसं २०७७ र २०७८ मा पनि बर्सातमा त्यही ठाँउमा चार महिना सडक अवरुद्ध भएको थियो। हिउँदमा सडक विभागले सडक बनाए पनि बर्सातमा पहिराले सडक भासिने गरेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टले बताए।  

प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update