Sagun Khabar
वनारसी धाममा ज्योतिर्लिङ्ग स्थापना गर्ने तयारी 

बैतडी –बैतडीको पाटन नगरपालिका वडा नं ३ स्थित वनारसी (विश्वनाथ) धाममा ज्योतिर्लिङ्ग स्थापनाको तयारी भएको छ । वनारसी धाममा ज्योतिर्लिङ्ग स्थापनाका लागि मन्दिर निर्माण कार्य सम्पन्न भएपछि ज्योतिर्लिङ्ग स्थापना गर्ने तयारी भएको हो । 

जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले वनारसी धाम नै विश्वनाथ ज्योतिर्लिङ्ग भएको बताएपछि त्यो ठाउँमा ज्योतिर्लिङ्ग स्थापनाका लागि मन्दिर निर्माण गरिएको हो । पौराणिक सरयु (सुर्नया) नदीको किनारमा विश्वनाथ धाम रहेको पुराणमा समेत उल्लेख गरिएको जगद्गुरुले दाबी गरेका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

वनारसी धाममा गएको दुई बर्षदेखि ज्योतिर्लिङ्ग स्थापनाका लागि मन्दिर निर्माण कार्य भइरहेकोमा अहिले सम्पन्न भइसकेको निर्माण समितिका सल्लाहकार मानबहादुर चन्दले बताए । वनारसी धाममा पुग्नका लागि सडकबाटो समेत निर्माण गरिएको छ भने मन्दिर निर्माणको काम अन्तिम चरणमा पुगेको वनारसी (विश्वनाथ)धाम सेवा समाजका अध्यक्ष उत्तरबहादुर चन्दले बताए । 

मन्दिर निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यो बर्ष १० लाख विनियोजन गरेको चन्दले बताए । यस्तै यो भन्दा पहिला सांसद विकास कोषबाट २ लाख, पाटन नगरपालिकाबाट १ लाख र पाटन नगरपालिका वडा नं ३ बाट २ लाख सहयोग प्राप्त भएको चन्दले बताए । 

मन्दिर निर्माण कार्य सम्पन्न भएपछि यही फागुन ४ गते पाटन बजारबाट बाजागाजा सहित ज्योतिर्लिङ्गलाई शोभायात्रा सहित वनारसी धाममा लगिने चन्दले बताए । वनारसी नाथ (विश्वनाथ) ज्योतिर्लिङ्गको पूजाआजा पछि फागुन ६ गते स्थापना गर्ने तयारी भएको निर्माण समितिका संयोजक गणेशदत्त पन्तले बताए । 

वनारसी धाममा हरेक बर्ष माघ शुक्ल दशमीका दिन जात्रा लाग्ने गर्दछ । यो जात्रामा दलित समुदायका पूजारी हुन्छन् भने सबैले प्रसाद ग्रहण गर्ने गर्दछन् । वनारसी धाममा परापूर्वकालदेखि नै सामाजिक सदभावको जात्रा हुने गरेको बताइएको छ । 
 

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update