Sagun Khabar
बैतडीस्थित पाण्डवका पञ्चदेवलमा महाशिवरात्रीको तयारी 

बैतडी –महाशिवरात्री पर्व नजिक आएसंगै बैतडीको दशरथचन्द नगरपालिका ४ स्थित पञ्चदेवलमा तयारी भएको छ । ऐतिहासिक तथा धार्मिक महत्व बोकेका पञ्चदेवलमा हरेक बर्ष महाशिवरात्रीको अवसरमा ठूलो मेला लाग्ने गरेको स्थानीय गणेशदत्त भट्टले बताए । उनले भने ‘देवलाहाटस्थित पञ्चदेवलमा मेला तयारी भइरहेको छ । सो मेलामा सयौं दर्शनार्थीहरु आउने गरेका छन् ।’

परापूर्वकालमा पाण्डवले वनबासमा रहेका बेला एकैरातमा ती पञ्चदेवल बनाएका जनश्रुति रहेको छ । पञ्चदेवल भनिए पनि त्यो ठाउँमा सातवटा देवल छन् । पाण्डवले बनाएका हुनाले पञ्चदेवल भनिएको र  कुन्ती र द्रौपदीका लागि समेत दुईवटा अलग देवल रहेका भट्टले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी सदरमुकाम गढीको ठीक तल दक्षिणतर्फ रहेको पञ्चदेवलमा शिवलिंग र सहस्त्रलिंग छन् । खडेरी परेका बेला प्रार्थना गरेमा पानी पर्ने जनविश्वाससमेत रहेकाले यसको धार्मिक महत्व निकै भएको स्थानीय दिलाराम भट्टले बताए । उनले भने, ‘पञ्चदेवल अहिले बनेका होइनन्, पाण्डवहरूले बनाएका हुन् भन्ने कथन छ, नजिकै शिवकुण्ड पनि छ । तर यसको महत्वका बारेमा प्रचारप्रसार हुन सकेको छैन ।’

प्रत्येक महिनाको संक्रान्ति र पूर्णिमाका दिन पूजा लाग्ने पञ्चदेवलमा महाशिवरात्रिका अवसरमा विशेष पूजा गरिन्छ । पञ्चदेवलमा निर्माण गरिएका पाँचवटा देवलमा प्रयोग गरिएका ढुंगाहरू सो ठाउँमा नपाइने गरेको स्थानीय जानकार बताउँछन् । 

हरेक देवल तीन तलाका छन् । नजिकै शिवकुण्ड छ । सोही कुण्डको पानीले प्रसिद्ध जगन्नाथ मन्दिरमा पूजाआजा गर्ने चलन रहिआएको छ । पञ्चदेवल निर्माणमा प्रयोग गरिएका ढुंगाको पहिचान, त्यसको उत्खनन र प्रचारप्रसार गर्नसके यसलाई तीर्थस्थलका रूपमा विकास गर्न सकिने भट्टले बताए ।

महाशिवरात्रीको अवसरमा लाग्ने मेलाको तयारी भइरहेको मेला व्यवस्थापन समितिले जनाएको छ । महाशिवरात्रीको अवसरमा पञ्चदेवलमा ठूलो मेला लाग्ने गर्दछ । पञ्चदेवलको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । 
 

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update