Sagun Khabar
बाजुरा अम्कोटका सात बालबालिकामा दादुराको लक्षण 

बाजुरा – बाजुराको बुढीगङ्गा नगरपालिका–१ अम्कोटमा बालबालिकामा दादुरा तथा रुबेला रोगको लक्षण देखिएको छ । बुधवार वडामा रहेको धुरालसैन आधारभूत स्वास्थ्य केन्द्रमा लक्षण भएका सात बालबालिका उपचारका लागि आएका स्वाथ्य केन्द्रमा कार्यरत अनमी बिन्दु विष्टले बताइन् । ती बालबालिका अम्कोट गाउँका एउटै टोलका रहेका विष्टले बताइन् । जाँच गर्दा सबैमा एकैखाले लक्षण देखिएको बिष्टको भनाइ छ । उनीहरुलाई ज्वरो आएको, शरीरभरि बिमिरा रहेको, खोकी लाग्ने, नाकमा सिँगान बग्नेजस्ता लक्षण देखा परेको छ । 

अम्कोट गाउँमा रहेका अन्य बाललिकामा पनि यस्तो रोग देखा परेको स्थानीयले बताएका छन् । एक हप्तादेखि बालबालिकालाई ज्वरो आउने, हातखुट्टा दुख्ने र नाकबाट पातलो सिँगान बग्ने  समस्या देखा परेको हो । बालबालिकामा दादुरा रोगको जस्तो लक्षण देखा परेकोले नगरपालिका स्वास्थ्य शाखालाई जानकारी गराइसकेको स्वास्थ्य केन्द्रले जनाएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

बूढीगङ्गा नगरपालिका स्वास्थ्य शाखा संयोजक दीपक शाहका अनुसार बालबालिकामा दादुरा तथा रुबेला रोगको सङ्केत देखिएको खबर आएको बताए । दादुरा तथा रुबेलाको नमुना लिनका लागि संयोजकसहित प्रयोगशालाका कर्मचारी खटिएका उनले बताए । बिरामी बालबालिकाहरुले नमूना लिएर परीक्षणका लागि धनगढी प्रयोगशालामा पठाइने उनले बताए । 

दादुरा स्वासप्रस्वासको माध्यमबाट सर्ने र सजिलै फैलिने खालको रोग हो । दादुरा भएका व्यक्तिले दादुराका लक्षण (ज्वरो, डाबर) देखिनु दुई दिनअघि र पाँच दिनपछि पनि अरुलाई रोग सार्न सक्छन् । 

दादुराको खोप नलगाएका व्यक्ति, रोग प्रतिरोधात्मक शक्ति काम भएका (अर्बुद, एड्सका बिरामी र लामो समय स्टेरोइड खाएका बिरामी) नौ महिनाभन्दा कमका शिशु जसमा आमाको गर्भबाट प्राप्त रोग प्रतिरोधात्मक शक्ति कम छ तथा गर्भवती दादुरा रोगको बढी जोखिममा हुन्छन् ।

नेपाल सरकारबाट निःशुल्क प्रदान हुने दादुराको खोप नौ महिना र १५ महिना उमेरका बालबालिकालाई दुई डोज लगाए यसबाट हुनसक्ने जोखिम निर्मूल पार्न सकिन्छ । यसको खोपले जीवनभरि रोग प्रतिरोधात्मक शक्ति दिने स्वास्थ्यकर्मीको भनाइ रहेको छ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update