Sagun Khabar
दैलेखमा ट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु 

दैलेख – नेपालगञ्जबाट दैलेखका लागि ग्यास सिलिण्डर लिएर आउँदै गरेको ट्रक आज बिहान ९ बजेतिर दुर्घटना हुँदा चालकसहित तीन जनाको ज्यान गएको छ ।

भे १ क २२०१ नम्बरको ट्रक दैलेखको गुराँस गाउँपालिका–४ तालपोखरी मोडमा दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

ज्यान जानेमा बाँके जिल्ला घर भएका चालक २९ वर्षीय कृष्ण चौधरी, ट्रकमा यात्रारत दाङ जिल्ला घर भएका दुई जना अन्दाजी १८ वर्षीय बिष्णु चौधरी र २७ वर्षका लछिराम चौधरी छन् । उनीहरुको शव क्षतविक्षत अवस्थामा रहेका छन् । 

ट्रक तालपोखरी झर्ने छोटो बाटो नजिक मोडमा ब्रेक फेल भइ माथिल्लो सडकबाट चिप्लिएर करिब २५ मीटर तल्लो सडकमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । 

ओरालो सकिएर मोडमै आइपुग्दा चालकले  ब्रेक  लागेन भनेपछि सहचालक सल्यानको कुपिण्डेदह गाउँपालिका–७ का २८ वर्षीय प्रकाश कुमाइले सडकमै हामफालेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।

मृतकहरु नेपालगगञ्जको मनकामना ग्यास कम्पनीमा कार्यरत कामदारहरु भएको बताइएको छ ।

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update