Sagun Khabar
बाजुरामा बाढी पहिरोबाट १३ परिवार विस्थापित, दर्जनौँ घर जोखिममा

बाजुरा – बाढी र पहिरोका कारण बाजुरामा १३ परिवार बिस्थापित भएका छन् । शुक्रबार आएको बाढी र पहिरोका कारण  हिमाली र गौमूल गाउँपालिकामा १३ परिवार बिस्थापित हुनुका साथै दर्जनौ घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

हिमाली गाउँपालिका–३ युनामा शुक्रबार घरमाथिबाट आएको पहिरोमा परेर दीपलाल बुढाको घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । शुक्रबार बिहान साढे ८ बजे आएको पहिरोले बुढाको घरसहित घरभित्र भएका अन्नपात, लुगा कपडा बगाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्रसिंह कठायतले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

पहिरोले घर बगाएपछि तीन जनाको परिवारको बिचल्ली भएको छ । उनीहरुको सुरक्षित बासका लागि वडा अध्यक्षसँग पहल भइरहेको प्रहरी निरीक्षक कठायतले जानकारी दिए । पहिरोका कारण सोही वडाका १० घर जोखिममा परेको प्रहरीको भनाइ छ । युनामा रहेको आधारभूत स्वास्थ्यचौकी पनि पहिरोको जोखिममा परेको छ । साथै गौमूल गाउँपालिका–३ मा आएको पहिरोमा परी १२ परिवार विस्थापित बनेका छन् । लगातारको वर्षापछि आएको पहिरोका कारण बेहरीका पाँच र ढल्काँडाका सात गरी १२ परिवार विस्थापित बनेको गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाले जानकारी दिइन् । 

बाजुराका दुई हजारभन्दा बढी परिवार अहिले पहिरोको उच्च जोेखिममा छन् । 
 

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update