बैतडी –स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले यो बर्षको गौरा भदौ २१ गते नै परेको दाबी गरेका छन् । सगुन खबरसंगको अन्तरवार्तामा उनले गौरापर्व भाद्र शुक्ल या कृष्ण पक्षमा पर्ने र त्यो बाहेक अन्य पक्षमा नपर्ने बताएका छन् । उनै लेखकसंग भगीरथ अवस्थीले गरेको यो कुराकानी
गौराका बिषयमा अहिले निकै बहस भइरहेको छ । गौरा भदौ २१ कि भदौ ७ ?
गौरा पर्व भदौ २१ गते नै हो । भदौ ७ गतेको गौरा कुनै शास्त्रमा पूराणमा धर्ममा रितीतिथीमा र प्राचीन कालका हस्तलिखित ग्रन्थ लगायत हाम्रो मानसखण्ड क्षेत्र जहाँजहाँ दुबधागोसहित दुर्वाष्टमी मनाइन्छ, त्यो क्षेत्रमा ७ गतेको गौराको कुनै औचित्य छैन् कुनै नियम छैन् । किन भने ‘श्रावणी पूर्णिमा पूर्वं न त दुर्वाष्टमी ब्रतम् ।’भनेर भनेको छ । श्रावणी पूर्णिमा पूर्व दुर्वाष्टमी ब्रत गर्नुहुँदैन भनेर भनेको छ । यसको आधार के हो भने यो दोरक लगाउने पर्व हो । धागो लगाउने पर्व भन्नाले सुत्रको अर्थात धागोको प्रतिष्ठा चाँहि पूर्णिमाको दिन हुन्छ । श्रावण पूर्णिमाको दिन सप्तऋषिको पूजा गरेर, अरुन्धतिको पूजा गरेर, सम्पूर्ण ऋषिमूनिहरुको पूजा गरेर ऋषि तर्पणी गरेर अनि मात्रै ती धागोहरुको पूजा हुन्छ । त्यसपछि मात्रै ती धागोहरुलाई ब्राहमण, क्षेत्री, वैश्य, शुद्रले आफ्नो नियमानुसार लगाउने गर्दछन् । पुरुषहरुले धागोलाई रक्षा तथा जनेउको रुपमा लिने गर्दछन् । महिलाहरुले दुबधागोको रुपमा लिने गर्दछन् । मानस नारीहरुले अनन्त र दुबधागो रुपमा धारण गर्ने गर्दछन् ।
यस आधारमा प्रष्ट छ कि पूर्णिमामा प्रतिष्ठा गरेर मात्रै दुर्वाष्टमी लगाइन्छ । त्यसलाई भदौ शुक्ल पक्षको अष्टमी तिथी नै दुर्वाष्टमी हो भनेर भन्छौं । कथंचित के हो भने अगस्त उदय भने ‘यदादु भाद्र शुक्ल अष्टम्याम् अगस्तोदय, तदा तद्पूर्वं कृष्ण अष्टम्याम् कार्यम् ।’जब अगस्तोदय भयो भने त्यसपछि पूर्व कृष्ण अष्टमीमा गर्नु भनेर भनेको छ । अब कृष्ण अष्टमीमा किन गर्ने भनेर फेरि शास्त्रले के भन्यो भने ‘रोहिणी अष्टम्याम्’दुर्वाष्टमी कब गर्ने त ‘मूहुर्ते रोहिणी अष्टम्याम् पूर्वा वा यदि वा वरा दुर्वाष्टमी तुषाकार्या ।’पूर्वमा गर्यो भने रोहिणी नक्षत्र परेको अष्टमीमा गर्ने भनेर भनिएको छ । रोहीणी नक्षत्र भनेको कृष्ण भगवानको जन्म भएको कृृष्ण जन्माष्टमी हो ।
यसकारण श्रावण शुक्ल पक्षको अष्टमीमा दुर्वाष्टमी अर्थात गौरापर्व दुवधागो लगाउने कुनै पनि आधार छैन् ।
तपाँईले त्यस्तो कुरा गरिरहनु भएको छ । नेपाल पञ्चांग निर्णायक समितिले भदौ ७ गते तोकेको छ गौरापर्व । पञ्चांग निर्णायक समिति फेरि आधिकारिक पनि हो । यो बिषयमा के हुन्छ ? मान्छेहरुमा अन्यौल भइरहेको छ ।
नेपाल पञ्चांग निर्णायक समिति नेपालको एउटा संस्था हो । राष्ट्रिय चाडपर्वहरुको तिथीमिति तय गर्ने संस्था हो । दुर्वाष्टमी ब्रत भनेको मानसखण्डको मौलिक पर्व हो । यो पर्व मौलिक भूमि भनेको मानखण्ड नै हो । यसलाई उपासना गर्ने भनेको मानस नारी नै हुन् । अब अगस्ती तारा उदयको कुरा जहाँ छ । जुन भूमी गौराको उत्पत्ति भएको त्यो भूमिमा अगस्तीको उदय भदौ २४ गते हुन्छ भनिएको छ । ‘कन्याया मागदे सूर्ये अर्वा वा सप्तमे दिने ।’भनेर भन्छ असोज १ गतेबाट ७ दिन पूर्व अगस्ती सप्ताह मनाइन्छ । अगस्त ऋषिको पूजा गर्नका लागि बिरुडाको प्रयोग गरिन्छ । बिरुडा प्राचीन शब्द हो । त्यसैले यो पर्व नेपाली पञ्चांगले राख्यो भन्दैमा हामीले मान्नुपर्ने कुनै कारण छैन् । भदौ शुक्ल या कृष्ण अष्टमी बाहेक दुर्वाष्टमी हुँदैन् ।यो बिषयमा हामीले पञ्चांग निर्णायक समितिलाई मंसिरमै जानकारी गराएको भएपनि त्यसलाई बेवास्ता गरियो ।
हामीले पुत्रदा एकादशी अर्थात गौरा एकादशी नमनाएर यो दुबधागो लगाइँदैन भनेर पनि भनिसकेका हौं । हाम्रो यता जनै, रक्षा नगरेर, पुत्रदा एकादशी नमनाएर दुर्वाष्टमी हुँदैन् । अहिलेको विवादको मूल जरो भनेको नै पञ्चांग निर्णायक समिति हो ।
तपाँईले भन्नुभयो गौरा पर्व भदौ शुक्ल वा कृष्ण पक्षमा पर्छ त्यो बाहेकका पक्षमा हुँदैन् भनेर यो बिषयमा तपाँइ ज्योतिषहरु जानकारहरु एक हुन सकिरहनु भएको छैन नि ?
हामी के भनिरहेका छौं भने गौरा पर्व जहाँ मनाइन्छ । जहाँबाट शुरुवात भयो त्यहाँको रितीतिथी परम्परा अनुसार मनाउनुपर्छ भनिरहेका छौं । यो बिषयमा बुझ्नेहरुले गौरा एकादशी, श्रावणी पूर्णिमा पहिला दुर्वाष्टमी हुँदैन भनेर जानेका छन् । म सबैलाई आग्रह गर्दछु हाम्रो बिशिष्ट परम्परा छ । गौरा एकादशी, जनै पूर्णिमा भन्दा पहिला कहिले पनि गौरा भएको छैन् । त्यसैले हामी यो क्षेत्रका हरेक देवीदेवताहरुलाई मान्नेहरुले यो बिषयमा जानकारहरु हुनु जरुरी छ ।
मानस नारीहरुले गाउने सगुन, फाग, अठेवालीमा पनि भदौको महिनाको शुक्ल पक्षमा गौरा मनाउने कुरा उल्लेख हुन्छ । अगस्ती उदय भएको बेला मात्रै भदौ कृष्ण अष्टमीमा मनाउने भनेको छ । यी कुराहरु बुझिदिन म आग्रह गर्दछु ।




