Sagun Khabar
सुदूरपश्चिममा दुई गौरा हुने निश्चित,भदौ ७ र २१ मा गौरा मनाउने तयारी 

बैतडी –यो बर्ष सुदूरपश्चिममा दुई गौरा हुने निश्चित भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले भदौ ७ गते गौराको तिथी तय गरेपछि यो तिथीमा कतिपय ज्योतिषहरुले असन्ुष्टी जनाएका छन् । 

गौरा पर्व भदौ शुक्ल वा कृष्ण पक्षमा मात्रै मनाइने भएकाले यो बर्षको गौराको उपयुक्त तिथी भदौ २१ नै रहेको ज्योतिष लक्ष्मीदत्त अवस्थीले बताए । गौरा एकादशी तथा जनैपूर्णिमा अघि दुबधागो धारण गर्ने परम्परा नरहेकाले भदौ २१ गते गौराष्टमी भएको उनले बताए । 

यो बर्ष अगस्ती उदयको दोष भएकाले भदौ ७ गते नै गौरा पर्वको उपयुक्त तिथी भएको ज्योतिष डिल्लीप्रसाद जोशीले बताए । अगस्ती उदयपछि गौरा पूजन गर्न नहुने शास्त्रीय मान्यता रहेको उनले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

ज्योतिषहरुबीच गौराको तिथीका बिषयमा मतभेद भएपछि यो बर्ष दुई दिन गौरा हुने निश्चित भएको छ । भदौ ७ र भदौ २१ गते गौरा मनाउने विभिन्न ठाउँमा तयारी भएको छ । 

नेपाल सरकार र प्रदेश सरकारले भने भदौ ७ र ८ गते गौरा पर्वको बिदा दिएको छ । पञ्चाङ्ग निर्णायक समितिले भदौ ७ गते नै गौरा तिथी तोकेकाले यो बेला सरकारी बिदा दिइएको हो । 

बैतडीका केही स्थानमा भदौ ७ र केही स्थानमा भदौ २१ गते गौरा मनाउने तयारी रहेको छ । भदौ ७ गतेको गौराका लागि भदौ ४ गते बिरुडापञ्चमी, भदौ ५ गते नानी गौरा, भदौ ६ गते अमुक्ताभरण सप्तमी र भदौ ७ गते गौराष्टमी राखिएको छ । 

भदौ २१ गते गौरा मनाइने स्थानमा भदौ १८ गते बिरुडापञ्चमी, भदौ १९ गते नानी गौरा, भदौ २० गते अमुक्ताभरण सप्तमी र भदौ २१ गते गौराष्टमी राखिएको छ । 

बैतडीमा निङ्गलाशैनी भगवतीको क्षेत्रमा भदौ ७ गते गौराको तयारी छ भने त्रिपुरासुन्दरी भगवतीको क्षेत्रमा भदौ २१ गते गौरा मनाउने तयारी छ ।

यस्तै दार्चुलाका केही ठाउँमा भदौ ७ र केही ठाउँमा भदौ २१ गते गौरा मनाउने तयारी छ । यस्तै डडेल्धुराका पनि केही ठाउँमा भदौ ७ र केही ठाउँमा भदौ २१ गते गौरा मनाउने तयारी गरिएको छ ।  
 

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update