Sagun Khabar
बैतडीको पाटन–६ मा भदौ २१ गते गौरा मनाइने 

बैतडी –यस बर्षको गौरा पर्व भदौ ७ कि २१ मा भन्ने बहस भइरहेका बेला बैतडीको पाटन नगरपालिका वडा नं ६ का विभिन्न क्षेत्रभित्र भदौ २१ गते गौरा मनाउने निर्णय भएको छ । शनिबार वडा अध्यक्ष राजेन्द्रसिंह बिष्टको संयोजकत्वमा बसेको स्थानीय ज्योतिष, पण्डित तथा जानकारहरुको भेलाले भदौ २१ गते गौरा मनाउने निर्णय गरेको हो । 

गौरा एकादशीको उपासना बिना र जनैपूर्णिमा अघि दुबधागो धारण गर्ने परम्परा नरहेकाले भदौ २१ गते गौरा मनाउने निर्णय भएको पण्डित लवदेव जोशीले बताए । हेमाद्रि, धर्मसिन्धु लगायतका ग्रन्थहरुमा समेत श्रावणी पूर्णिमा अघि गौरा ब्रत नहुने उल्लेख भएकाले शास्त्रीय वचनकै आधारमा भदौ २१ गते गौरा मनाउने निर्णय भएको उनले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भदौ ७ गतेका लागि गौराको तिथी तोकेपछि यो क्षेत्रका अधिकांश ज्योतिषहरुले असन्तुष्टी जनाइरहेका छन् । गौरा पर्व भदौ शुक्ल वा कृष्ण पक्षमा मनाउने परम्परा भएकाले भदौ ७ गते श्रावण शुक्ल पक्ष परेकाले गौरा मनाउन नसकिने निर्णय भएको जोशीले बताए । 

अगस्ती उदयपछि गौरा पूजन नहुने कुरामा आफूहरु जानकार रहेको बताउँदै भेलामा सहभागी भएका ज्योतिषहरुले यो क्षेत्रमा भदौ २३ गतेपछि मात्रै अगस्ती उदय हुने भएकाले भदौ २१ गतेको गौरामा अगस्ती उदयको दोष नलाग्ने दाबी गरे । 

यसअघि पाटनको वडा नं २ र ३ तथा वडा नं ४ को कुँडी ढकाली क्षेत्रमा पनि भदौ २१ गते गौरा मनाउने निर्णय भइसकेको छ । 

बैतडीका केही ठाउँमा भदौ ७ गते र केही ठाउँमा भदौ २१ गते गौरा हुने निश्चित भएको छ । भदौ ७ गते गौरा हुने ठाउँमा भदौ ४ गते बिरुडापञ्चमी, भदौ ५ गते नानी गौरा, भदौ ६ गते अमुक्ताभरण सप्तमी र भदौ ७ गते गौराष्टमी मनाउने तयारी छ । 

यस्तै भदौ २१ गते गौरा हुने ठाउँमा भदौ १८ गते बिरुडा पञ्चमी, भदौ १९ गते नानी गौरा, भदौ २० गते अमुक्ताभरण सप्तमी र भदौ २१ गते गौराष्टमी मनाउने तयारी भएको छ । 
 

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update