Sagun Khabar
बडीमालिकामा सेनाको शिविर : ८६६ जनाको स्वास्थ्य उपचार

बाजुरा –बाजुरामा रहेको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल बडिमालिकामा जनैपूर्णिमाको अवसरमा लागेको मेलामा नेपाली सेनाले सञ्चालन गरेको स्वास्थ्य शिविरबाट ८ सय ६६ जनाले स्वास्थ्य उपचार पाएका छन् । 

४ हजार २१२ फिटको उचाईमा रहेको बडीमालिकाको तिर्थस्थल त्रिवेणी र बडीमालिका मन्दिरमा पुरुष ५४५ र महिला ३२१ गरी ८ सय ६६ जनालाई स्वास्थ्य उपचार गरिएको दुर्गाभञ्जन गुल्मका गुल्मपति सेनानी धर्मेन्द्रबहादुर सिंहले बताए । अक्सिजन अभावका कारण तथा विभिन्न प्रकारका बिरामले थला परेर सिकिस्त भएकाहरुलाई सेनाको मेडिकल टोलीले उद्धार गर्दै स्वास्थ्य शिविरमा उपचार गरिएको उनले बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

बडीमालिकाको दर्शनका लागि गएका तीर्थयात्रीलाई लेक लाग्ने र अक्सिजन अभावका कारण समस्या आउने भएकाले दुर्गाभन्जन गुल्मले शिविर सञ्चालन गरेको थियो । 

बडीमालिका मन्दिर र त्रिवेणी धाममा आएका दर्शनार्थीलाई हुन सक्ने जोखिम र समस्या निराकरण गर्न गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको नेपाली सेना बाजुराले जनाएको छ । बडीमालिकाको दर्शनका लागि गएका ६ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

अक्सिजन अभावका कारण त्रिवेणी धाममा लडेर अचेत भएका ६ जनालाई सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी उपचार गरिएको दुर्गाभञ्जन गुल्मका गुल्मपति सिंहले बताए । सेनाको हेलिकोप्टरमा कालिकोट जिल्ला पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने, बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ का ६५ वर्षीय झुपुदेवी धामी, त्रिवेणी नगरपालिका–१ छताराका २३ वर्षीय भरतबहादुर बुढा, कैलालीको गोदावरी नगरपालिका अत्तरियाकी ६३ वर्षीया ईश्वरी बोहरा, ५२ वर्षीया गंगादेवी बोहरा र जुम्ला जिल्ला चन्द्रनाथ नगरपालिका–२ की ४६ वर्षीया विनुदेवी बस्नेतलाई उद्धार गरिएको हो । 

उद्धार गरिएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ भने चार जनालाई उपचारपछि घर फकाईएको छ । कालिकोटका ३९ वर्षीय धनप्रसाद न्यौपाने र त्रिवेणी नगरपालिका–१ छताराका २३ वर्षीय भरतबहादुर बुढाको मृत्यु भएको छ ।
 

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update