Sagun Khabar
कोशीका मुख्यमन्त्री थापा पदमुक्त, हिक्मत कार्कीलाई ४८ घण्टाभित्र नियुक्त गर्न परमादेश

काठमाण्डाै – सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त हुने परमादेश जारी गरेको छ । सर्वोच्चको पूर्ण इजलासले थापालाई पदमुक्त गरेर सबैभन्दा ठूलो दलको हिसाबले नेकपा एमालेका हिक्मत कार्कीलाई ४८ घण्टाभित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्न पनि परमादेश दिएको छ ।

आज बिहीवार न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखका नाममा परमादेश जारी गरेको हो ।

स्वास्थ्य सन्देश
Atrya hospital

यसअघि पनि सभामुख बाबुराम गौतमको मतसहित विश्वासको मत लिएका थापालाई सर्वोच्चले नै पदमुक्त गरेको थियो । दोस्रो पटक मुख्यमन्त्री बनेका थापाले यही भदौको ४ गते सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले समेत मत दिएपछि विश्वासको मत पाउनुभएको थियो । तर सभाध्यक्षकै मतको प्रयोग गरेर विश्वासको मत लिनु संविधान र कानुन विपरीत भएको भन्दै भन्दै एमालेका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट दिनुभएको थियो ।

आज विश्वासको मत बदर गर्दै सर्वोच्चको पूर्ण इजलासले मुख्यमन्त्री थापालाई पदमुक्त गरेर हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन भनेको छ । कोशी प्रदेशमा बहुमतका लागि ४७ जना चाहिनेमा सत्ता गठबन्धन र एमालेको गठबन्धन दुवैसँग बहुमत नहुँदा खिचातानी भइरहेको छ । सत्तापक्षले सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत पुर्‍याउने बाटो समातेको थियो तर एमाले र राप्रपाले उपसभामुख र ज्येष्ठ सदस्यहरूलाई बैठकमा अनुपस्थित गराएर सत्तापक्षकै सांसदलाई सभाध्यक्ष बनाउनैपर्ने बाध्यता सिर्जना गरेका थिए ।

 

 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update