Sagun Khabar
घरमा कुश भित्र्याएर कुशे औँसी मनाइँदै, आज बुबाको मुख हेर्ने दिन

काठमाण्डौ – हरेक वर्ष भदौ कृष्णपक्षको औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाइँदै छ ।

कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसैदिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए ।

स्वास्थ्य सन्देश
Atrya hospital

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् ।

यस्तै, पितालाई सम्मान–भक्ति प्रकट गर्दै आज बुबाको मुख हेर्ने दिन मनाइँदै छ । बुबा हुनेले मिठामिठा परिकार बनाएर खुवाउने तथा लुगाफाटो तथा विविध उपहार दिने चलन छ । बाबु नहुनेले विभिन्न तीर्थस्थलमा गइ तर्पण तथा श्राद्ध गर्ने परम्परा छ ।

आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाण्डौको उत्तरपूर्वी क्षेत्रमा रहेको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीको नामले पनि चिनिन्छ ।

यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भिड लाग्ने गर्छ । यसैगरी रसुवा र नुवाकोट सङ्गमस्थल बेत्रावतीमा पनि मेला लाग्छ ।
 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update