Sagun Khabar
सडकमा राखिएका सामग्री तुरुन्त हटाउन पाटन नगरपालिकाको आग्रह 

बैतडी–बैतडीको पाटन नगरपालिकाले पाटन बजार क्षेत्रको सडकमा राखिएका निर्माण सामग्री तुरुन्त हटाउन आग्रह गरेको छ । नगरप्रमुख केशवबहादुर चन्दको संयोजकत्वमा बसेको बैठकले बजार क्षेत्रको सडकमा जथाभावी थुपारेका निर्माण सामग्री, बालुवा, गिट्टी, ढुंगा हटाउन आग्रह गरेको नगर प्रवक्ता लोकेन्द्र भण्डारीले जानकारी दिए  । 

यस्तै होटेल व्यवसायीहरुलाई पनि जथाभावी सडक फोहर नफाल्न आग्रह गरिएको उनले बताए । उनले भने ‘बजार क्षेत्रका सडकमा जथाभावी फालिएका निर्माण सामग्री, होटेल व्यवसायीहरुले फाल्ने फोहरलाई हामीले व्यवस्थित गर्न भनेका छौं । नगर क्षेत्रको वातावरणीय अवस्थालाई सफा राख्न पनि यो कदम चालेका हौं ।’ 

स्वास्थ्य सन्देश
Atrya hospital

सोमबार प्रत्येक व्यवसायीहरुलाई भेटेरै दुईदिनभित्र सडक छेउमा फालेका सामग्री व्यवस्थापन गर्न आग्रह गरिएको प्रवक्ता भण्डारीले बताए । 

बजार क्षेत्रको सडकमा जथाभावी राखिएका निर्माण सामग्री दुईदिनभित्र नहटाए कानुन अनुसार कारवाही हुने नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिए । उनले भने ‘हामीले लिखित रुपमै सम्बन्धित सबैलाई आग्रह गरिसकेका छौं । अव्यवस्थित रुपमा फालिएका सामग्रीको व्यवस्थापन गरिएन भने कानुन अनुसार कारवाही हुन्छ ।’

सडकमा जथाभावी राखिएका निर्माण सामग्रीले बजार क्षेत्रमा आवतजावतमै समस्या भएको, जथाभावी फालिएको फोहरले बजारमा आउने नागरिकलाई सास्ती भएकाले यो कार्य गरिएको नगरप्रमुख चन्दले जानकारी दिए । 

पाटन बजार क्षेत्रलाई सफा बजार बनाउन आफूहरुले नगरपालिकाका तर्फबाट पहल चालेको र यसमा सबैले सहयोग गर्नुपर्नेमा उनले जोड दिए । 

सडक छेउछाउ राखिएका निर्माण सामग्री दुर्घटनाको जोखिम बढाएको छ भने जथाभावी फालिएको फोहरले विभिन्न संक्रमणको जोखिम बढाएको छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update