Sagun Khabar
टिकटकजस्तै ‘रमाइलो’ एप सार्वजनिक

काठमाडौं – नेपालमा सन् २०१९ देखि सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशील कम्पनी आईडिया जार डिजिटल कम्पनीले टिकटकजस्तै ‘रमाइलो’ एप सार्वजनिक गरेको छ ।

एपमा भिडियो हेर्ने तथा अपलोड गर्ने, भिडियो एक्सप्लोर गर्ने, लाइक, कमेन्ट र सेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधा समेत रहेको कम्पनीले जनाएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

कम्पनीले कन्टेन क्रियटरलाई केही समयपछि कन्टेन र लोकप्रियता अनुसार निश्चित रकम दिँदै जाने योजना बनाएको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

टिकटक, फेसबुक जस्ता सामाजिक सञ्जाललाई नियमनको दायरामा ल्याउन कठिन भएको सरकारले बताइरहेका बेला नेपालकै कम्पनीले यस्तो एप विकास गर्दा नियमनमा पनि सहज हुने कम्पनीको दाबी छ ।

सरकारले हालैमात्र नेपालमा सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाएको छ । सरकारले सामाजिक सद्भावमा खलल पु¥याउन सक्ने भन्दै टिकटक प्रतिबन्ध गर्दा नेपाली प्रयोगकर्ताहरूका लागि यो एप उपयोगी हुने कम्पनीले बताएको छ ।

यस एपमा भिडियो निर्माणका क्रममा उच्छृङ्खल गतिविधि भएमा वा गैरकानुनी तथा अमर्यादित हर्कत भएमा त्यसलाई कानुनी दायरामा ल्याउन सरकारलाई सहयोग समेत गर्ने प्रतिबद्धता कम्पनीले बनाएको छ ।

गलत नियतका सामग्री प्रयोगकर्ताले अपलोड गरेमा एपको ’कम्युनिटी गाइडलाइन्स’ अन्तर्गत भिडियो हटाउने, एकाउन्ट सस्पेन्ड गर्नेदेखि एकाउन्ट नै सदाको लागि बन्द गराउने समेत कम्पनीले जनाएको छ ।

नेपाली प्रयोगकर्ताहरूको डेटा नेपालमा नै सुरक्षित हुने हुँदा प्रयोगकर्ता थप सुरक्षित र ढुक्क भई सामाजिक सञ्जालमा रमाउन सक्ने कम्पनीको दाबी छ । रमाइलो एपमा १३ वर्ष उमेरभन्दा माथिका नागरिकले पहुँच राख्न सक्ने बताइएको छ । यस एपलाई हाल गुगल प्ले स्टोरमा उपलब्ध गराइएको छ । केही दिनमा आइफोन प्रयोगकर्ताहरूले एप स्टोरबाट डाउनलोड गरी चलाउन सक्ने कम्पनीले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update