Sagun Khabar
बैतडी सहित सुदूरपहाडमा नरहरी पर्वको रौनक:कागलाई बोलाउँदै 'माडा'खुवाउने प्रचलन

बैतडी-बैतडी सहित सुदूरपहाडमा नरहरी पर्वको रौनक छाएको छ । मकर सक्रान्तिलाई सुदूरपश्चिमका पहाडी क्षेत्रमा नरहरी सक्रान्तिको रुपमा मनाउने चलन रहीआएकोले  अहिले रौनक छाएको  हो । नरहरी पर्वमा पौष मसान्तको राती मिठोमसिनो खाने चलन रही आएको छ भने माघे सक्रान्तिको बिहानै नुवाईधुवाई गरेर कागलाई खानेकुरा दिने चलन रही आएको छ ।

माघे सक्रान्तिमा कागलाई मिठा खानेकुराहरु खुवाउँदा पाप नष्ट हुने धार्मीक मान्यता रहीआएको स्थानीय  संस्कृतिका जानकार  गणेश दत्त अवस्थीले बताए । माघ महिनालाई धार्मीक महिना मान्ने प्रचलन रहेको पनि उनले बताए । बैतडी सहित सुदूरपहाडमा नरहरी पर्वको समयमा चामलको रोटी (माडा), झुनमुने तरुल लगायतका परिकार बनाएर खाने चलन छ । ती परिकारहरु माघे सक्रान्तिको बिहानै कागलाई समेत दिने चलन रही आएको छ ।  

स्वास्थ्य सन्देश
Atrya hospital

मसान्तमा सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागलाई दिने गरिएको स्थानीय लिला महराले बताईन् । माघे सक्रान्तिका दिन बिहानै नुहाई धुवाई गरी ‘का कौवा का, मेरो रोटी खा’ भनेर बालबालिकाहरुले कागलाई बोलाउँदै खुवाउने प्रचलन रहेको छ ।  कागलाई खबर आदानप्रदान गर्ने पंक्षिको रुपमा चिनिन्छ ।

यसलाई  यमराजको सन्देश वाहकका रुपमा पनि पूजा गरिन्छ । नरहरीका लागि वन तरुल खन्ने कार्यमा स्थानीयहरु व्यस्त रहेका छन् । पौष मसान्तमा तरुल खन्न जाने  र राति पकाएर  सबै एकै ठाउँमा बसेर  खाने चलन  रहिआएको  छ ।

आज राती र भोली दिउँसो तरुल सहित   मिठो मसिनो खाने चलन रही आएको स्थानीय तर्क राज भट्टले बताए । भोलीदेखि नै माघस्नान गर्ने चलन समेत रहीआएको  छ । माघ महिना धार्मिक महिना भएकाले माछा मासु पनि खानु हुँदैन भन्ने पुस्तौदेखि चलिआएको प्रचलन रहेको छ ।  

सुदूरपहाडमा माघे सक्रान्ति नरहरीलाई हर्षाेउल्लास तरिकाले मनाइने गरिन्छ । यो पर्वमा कामको सिलसिलामा घरबाहिर रहेका मानिसहरु घर फर्किने गरेका र बिबाहित महिलाहरु माइती घर  आउने चलन रहिआएको छ ।

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update