बैतडीमा ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम : दुई महिनामा ११ जनालाई नागरिकता वितरण

बैतडी–बैतडीमा ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । उक्त कार्यक्रम अन्तर्गत अशक्त तथा अपांगता भएका नागरिकहरुलाई उनीहरुको घर अथवा पायक पर्ने ठाउँमै गएर नागरिकता दिने गरिएको छ । 

सोही कार्यक्रम अन्तर्गत सुर्नया गाउँपालिका–८ कठमडाकी धाना साउँदले ७३ बर्षको उमेरमा बिहीबार नागरिकता पाएकी छन् । नागरिकता नभएकै कारण सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित रहेकी धानालाई उनको घर नजिक ढोल्यामोडमा पुगेर नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताइन् । 

नागरिकताको प्रमाण पत्र प्राप्त गरेपछि धाना पनि खुसी भएकी छन् । उनले भनिन्, ‘अहिले नागरिकता बनेको छ । अब सामाजिक सुरक्षा भत्ता पाइने भयो । मलाई पनि केही सहज हुन्छ ।’

बिहीबार साउँदसहित पाँच जना अपाङ्गता भएका र अशक्त नागरिकलाई उनीहरूको घरपायक पर्ने ठाउँमा पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिइन् । शारीरिक असक्तताका कारण नागरिकताबाट वञ्चित भएका नागरिकलाई घरपायक पर्ने स्थानमा सेवा दिने उद्देश्यले प्रशासनले ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम सञ्चालन गरेको उनले बताइन् । 

सिगास गाउँपालिका–२ की ‘क’ वर्गको अपाङ्गता भएकी १६ बर्षीया मनिषाकुमारी धामी, सोही वडाका १९ वर्षीय मुकुन्दसिंह धामी र ‘ख’ वर्गको अपाङ्गता भएका १६ वर्षीय वसन्त नेपालीलाई वडा कार्यालयमा पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ । 

यस्तै सिगास गाउँपालिका–१ का ‘क’ वर्गका अपाङ्गता भएका १६ वर्षीय रन्जित भुललाई घरपायक पर्ने स्थानमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन् । 

वडा कार्यालयमा छोराको नागरिकता बनेपछि जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता हटेको मुकुन्दका बुवा अमरसिंह धामीले बताए । वडा कार्यालयमै नागरिकता बनाउन पाउँदा खुशी लागेको उनले बताए । 
खर्च पनि बढी लाग्ने र कार्यालयसम्म पुगेर नागरिकता लिनसक्ने अवस्था नभएका अशक्त नागरिकले वडामै सेवा पाउँदा सहज भएको सिगास गाउँपालिका–२ का वडासचिव प्रताप बोहराले बताए । शारीरिक असक्तताका कारण नागरिकताबाट वञ्चित व्यक्तिलाई वडा कार्यालयले प्रशासनलाई सिफारिस गरेको र प्रमुख जिल्ला अधिकारीसहितको टोली वडा कार्यालयमा पुगेर तीनै जनालाई नागरिकता प्रदान गरिएको बोहराले जानकारी दिए ।

बैतडीमा ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कार्यक्रम सञ्चालन भएको दुई महिनाको अवधिमा ११ जना अशक्त तथा अपांगता भएका नागरिकलाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

कार्यक्रमअन्तर्गत जिल्लाभरका नागरिकताबाट वञ्चित भएका अशक्त तथा अपांगता भएका नागरिकहरुको विवरण सङ्कलन गरिरहेको कार्यालयले जनाएको छ । यसका लागि जिल्लाका सबै वडामा पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन् । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २०, २०८३  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update