Sagun Khabar
सशक्तीकरण केन्द्रमा आवद्ध महिला सशक्त बन्दै 

बैतडी –जिल्लाको पाटन नगरपालिका ९ धारापानीकी डम्मरी भाट अहिले टोल विकास समितिको नेतृत्वमा आएकी छन् । महिला सशक्तीकरण केन्द्रको संयोजक रहेकी भाटलाई अहिले निकै सहज भएको छ । 

उपभोक्ता समितिमार्फत सञ्चालन हुने विकास निर्माणका योजनाहरुको नेतृत्वमा समेत भाट अटाएकी छन् । महिला सशक्तीकरण केन्द्रमा आवद्ध भएपछि आफूमा धेरै परिवर्तन आएको उनले सुनाइन् । उनले भनिन् ‘सशक्तीकरण केन्द्रमा आवद्ध भएपछि बोल्ने सीपको विकास भएको छ । विभिन्न अधिकारहरुको बारेमा जानकारी भएको छ । समूहको नेतृत्व गर्न पाएकी छु ।’

स्वास्थ्य सन्देश
Atrya hospital

पाटन नगरपालिका ९ भट्याडीकी गोदावरी भाटले पनि महिला सशक्तीकरण केन्द्रमा आवद्ध भएपछि धेरै कुरा सिकेको बताइन् । प्रत्येक हप्ता सञ्चालन हुने कक्षामा आफूहरुले विभिन्न बिषयमा छलफल गर्ने गरेको उनले बताइन् । उनले भनिन् ‘सशक्तीकरण केन्द्रमा हामी महिलामाथि हुने हिंसा न्यूनीकरणका बिषयमा छलफल गर्छौं । महिलाको अधिकारका बिषयमा छलफल गर्छौ । एकआपसमा भेटघाट हुन्छ । विभिन्न समस्या समाधानका उपायका बारेमा समेत छलफल गर्छौं ।’

जिल्लाको पाटन नगरपालिका र दशरथचन्द नगरपालिकामा अक्सफाम नेपालको सहयोगमा रुडेस बैतडीले ग्रीन परियोजनामार्फत सशक्तीकरण केन्द्रहरुमा सञ्चालनमा ल्याएको छ । ती सशक्तीकरण केन्द्रहरुमा महिलाका विभिन्न सवालमा छलफल हुने गरेको केन्द्रकी सहजकर्ता पार्वती भाटले बताइन् । उनले भनिन् ‘ हामीले सशक्तीकरण केन्द्रहरुमा साप्ताहिक कक्षा सञ्चालन गर्ने गरेका छौं । ती कक्षाहरुमा महिलाको क्षमता अभिवृद्धिका बिषयमा छलफल गर्ने गरेका छौं ।’

सशक्तीकरण केन्द्रमा आवद्ध महिलाहरु आफ्नो अधिकारका बिषयमा जानकार भएका अर्का सहजकर्ता राधा जोशीले बताइन् । महिलाको क्षेत्रमा सरकारी बजेटको सदुपयोगदेखि लिएर आफ्नो अधिकारका बिषयमा ग्रामीण महिला जागरुक बनेका उनले बताइन् । उनले भनिन् ‘हामीले समूहमा गएर हरेक हप्ता विभिन्न बिषयमा छलफल गर्ने गरेका छौं । यसले ग्रामीण महिलामा धेरै परिवर्तन आएको छ ।’

दशरथचन्द नगरपालिका र पाटन नगरपालिकाका विभिन्न वडामा महिला सशक्तीकरण केन्द्र सञ्चालनमा रहेका छन् । ती केन्द्रहरुमा २५ देखि ३० जनाको सहभागिता रहेको छ । उनीहरुले हरेक हप्ता विभिन्न बिषयमा केन्द्रमा सामूहिक रुपमा छलफल गर्ने गरेका रुडेस बैतडीका कार्यक्रम संयोजक अशोक चन्दले बताए । 

यस्तै समूहमा आवद्ध महिलाहरुलाई जिविकोपार्जनका लागि समेत परियोजनामार्फत विभिन्न सहयोग गर्ने गरिएको चन्दले बताए । उनीहरुलाई तरकारी खेतीमा आवद्ध हुनका लागि बीउ र प्राविधिक सहयोग गर्ने गरिएको चन्दले बताए । 

सशक्तीकरण केन्द्रमा आवद्ध महिलाहरुलाई विभिन्न तालिम दिएर सशक्त बनाउने प्रयास गरिएको रुडेस बैतडीका लेखा अधिकृत दिनेशप्रसाद जोशीले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update