Sagun Khabar
प्रेम के –के हो ?

प्रेम त्यो चीज हो जुन जराले सिँगो रुखलाई गर्छ । प्रेम त्यो चीज हो जुन गुँडले चरालाई गर्छ । दिनभरि भारी बोक्ने भरियाले नाम्लोलाई राती सुम्सुम्याएर जतनसाथ राख्छ । त्यो हो प्रेम । सस्याना स्कूले केटाकेटीहरुले किताबको खोल नच्यातियोस् भनेर गाता हालेर किताबको जतन गर्न खोज्नु प्रेम हो । कति प्रेम गर्छ खोलाले समुद्रलाई ? हजारौँ माइल दौडँदै, बाटोमा आइपर्ने व्यवधानहरुलाई पन्छाउँदै, जसरी पनि पुगेरै छाड्छ भेट्नलाई । प्रेम त्यो हो, जो एउटा लेखकले आफ्ना किताबका अक्षरसँग गर्छ । प्रेम त्यो हो जो गायकले आफ्नो स्वरसँग गर्छ । प्रेम त्यो हो जो संगीतकारले आफ्नो धुनसँग गर्छ । त्योपनि प्रेम नै हो, जो किसानले आफ्नो हलोसँग गर्छ । प्रेम खोलाले गर्छ हिमालमा परेको हिउँलाई । त्यसैले त सालैभरि आफू रुख्खिएर कुनै दिन त पग्लेला भनेर कुरी बस्छ । प्रेम दियोमा बलिरहेको आगोले गर्छ तेललाई । त्यसैले त उसले तेललाई भनिरहेको हुन्छ, जबसम्म तिमी छौ, म बलिरहन्छु । पानीले हरेक बालीलाई भनिरहेको हुन्छ, तँ सक्दो फल्नु है, म सकेसम्म तेरो जरा जरामा पुगिदिन्छु ।

हामी कहाँ कहाँ खोज्छौँ प्रेम ? कुन दुनियामा होला र प्रेम ? प्रेम त प्रकृतीमै छ । हाम्रै वरिपरि । माटोमा, फूलमा, हावामा, पातमा, घरमा, घाममा, सीतमा अनि हजारौ गुनगुनाइने गीतमा । हेरौँ त हरेक अनुहारमा छ प्रेम । हरेक मान्छेको मधुर मुस्कानमा छ । कानका गहना बेचेर बुच्चै पारिदिएर कतार उडेका आफ्नो लोग्ने सम्झँदै रातदिन आँशु बगाउने भाउजुको एक थोपा आँशु औँलामा राखेर हेर्नुस् त कति प्रेम छ त्यहाँ ? अनि तिनै दाइका कहिल्यै पोष्ट नहुने चिठीहरुमा कति पोखेका छन् उनले प्रेम ।

आकाशमा लाखौँ ताराहरु छन् । कसैले कसैलाई नछोएरै पनि टिलिक्क टल्किरहेका छन् । आआफ्नो ठाउँ लिएर, न साँध, न सिमाना, न संवाद न विवाद । धरती र आकाशपनि, जसले एक अर्कालाई हेरेरैमात्र सदियौँ काटिसके । उनीहरुमा पनि त छ प्रेम । अनि गुलाफको बोटमा काँडा र फूलको प्रेम । फूलको सुरक्षा दिन काँडा सधैँ लागिरहन्छ। अनि हेर्नुस् खोला र बादलको सम्बन्ध । बादल जहिल्यै पनि चुहिन्छ त खोलाको काखमा गएर मिसिन अनि खोला जसलाई अरु बादलहरुको प्रेमले तानेर उडिजान्छ घामसँग मद्दत मागेर ।

Atrya hospital

प्रेम त मेरा हजुरबुवाले गर्नुहुन्छ, चालीस वर्ष अगाडी मरेकी हजुरआमालाई सम्झेर हरेक दिन भित्तामा टाँसिएको बडेमानको फोटो हेर्दै चाउरी परेका अनुहारमा मुस्कान ल्याएर । प्रेम मेरी सानी बहिनीले गर्छे हरेक दिन पप्पी नाउँको कुकुरलाई सुम्सुम्याएर । मेरी आमाले पनि बुवालाई प्रेम गर्छिन् । हरेक बिहान ड्रेसिङ्ग टेबल अगाडी उभिएर सिउँदोमा लामो सिँउँदोको धर्सो कोरेर । मेरो साथीले पनि खूब गरेको छ प्रेम आफ्नी प्रेमिकालाई,पाखुरामा उसको नाउँको टाटु खोपाएर । हामी सबै यहि प्रकृतीका अंश हौँ । प्रकृतीमा भएका साना भन्दा साना चीजले हामीलाई प्रेम गर्न सिकाउँछ, तैपनि हामीलाई यै प्रेम भन्ने चीजले किन दुखाउँछ ? यति बिस्तार भएको प्रेमलाई एकजनामा मात्र ल्याएर किन सुम्पिन्छौ हामी । प्रणय दिवशको सबै-सबैमा शुभकामना।

लेखक– नरेन्द्र शाहु

हाल कृषि प्रशिक्षक महेन्द्र मा.बि. खाँदबारी-०३, संखुवासभा

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update