Sagun Khabar
अस्थाको केन्द्र पाताल भुवनेश्वर धाम, महाशिवरात्रीमा लाग्छ ठूलो मेला 

बैतडी –जिल्लाको सुर्नया गाउँपालिका २ स्थित पाताल भुवनेश्वर धाम धार्मिक अस्थाको केन्द्र बन्दै गएको छ । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पातालभुवनेश्वर धाम आस्थाको केन्द्रको रुपमा रहेको सुर्नया २ का मोहनबहादुर बिष्टले बताए । उनले भने ‘पातालभुवनेश्वर धामको ऐतिहासिक र धार्मिक दुवै महत्व छ । पहिलादेखि नै यो धाम आस्थाको केन्द्र रही आएको छ ।’

चारैतिर वनजंगलले घेरेको बीचमा प्राकृतिक ताल रहेको पाताल भुवनेश्वरमा एउटा मुख्य गुफा र अन्य चारओटा गुफा रहेका स्थानीय जानकारहरुले बताएका छन् । सडकबाट झण्डै आधाकिलोमिटरको दुरीमा रहेको पाताल भुवनेश्वर धाममा अझै सडक पुग्न सकेको छैन् । ‘पाताल भुवनेश्वर धामको महिमाको बारेमा सबैले थाहा पाउन सकेका छैनन् । यसको प्रचारप्रसारका लागि सरकारी तर्फबाट पहल हुनुपर्छ ।’स्थानीय भजन बिष्टले भने, ‘प्रकृतिको अनुपम उपहारको रुपमा रहेको पाताल भुवनेश्वर धामको विकासका लागि सरकारी पक्षबाट पनि पहल हुनु उत्तिकै आवश्यक छ ।’

Patal-bhumesowr-1709784343.jpg
 

स्वास्थ्य सन्देश
Atrya hospital

२०७२ सालमा जर्मन गुफा बिशेषज्ञहरुको टोलीले गरेको अध्ययन अनुसार पाताल भुवनेश्वरगुफा दक्षिण एसीयाकै लामो गुफा हुन सक्ने अनुमान गरेको थियो । ‘गुफा बिशेषज्ञहरुको टोली ३५ सय मिटर सम्म पुगेको थियो । त्यो भन्दा अगाडि उनीहरुले पनि जान सकेनन् ।’पत्रकार लक्ष्मीदत्त पाण्डेयले भने, ‘गुफाको बारेमा मात्रै प्रचारप्रसार गर्न सकियो भने धेरै पर्यटक भित्र्याउन सकिन्छ । पाताल भुवनेश्वरधाममा पुग्ने सडक मात्रै निर्माण गर्न सके धेरै पर्यटक भित्र्याउन सकिन्छ ।’

पातालभुवनेश्वरधाम अग्लो डाँडोमा अवस्थित भएपनि धाममा कहिले नसुक्ने प्राकृतिक ताल रहेको छ । पछिल्लो समयमा संरक्षणको अभावमा ताल सुक्ने खतरा बढ्दै गएको स्थानीयबासी बताउँछन् । पाताल भुवनेश्वर धामको बारेमा स्कन्द पुराणको हिमवत खण्डमा समेत उल्लेख गरिएको पाइन्छ । भगवान विष्णुले राजा बलिलाई पाताल पठाएको र सोही बेलादेखि पाताल भुवनेश्वर नाम रहेको बताईएको छ । यस्तै अर्को प्रसंगमा भगवान शिवले सतीको पार्थिव शरीरलाई बोकेर पृथ्वी घुम्ने क्रममा सतीदेवीको पैताला खसेर पाताल भुवनेश्वर शिवशक्तिको रुपमा स्थापित भएको किम्वदन्ती छ । 

पाताल भुवनेश्वर धाममा चारओटा गुफा रहेका छन् । चारैतिर जंगल र बीचमा शिवमन्दिर सहितको तालले शोभा बढाएको छ । 

पाताल भुवनेश्वरको बारेमा स्कन्द पूराणमा समेत उल्लेख गरिएको स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए । उनले भने ‘पाताल भुवनेश्वर धामको बारेमा पूराणहरुमा समेत वर्णन गरिएको छ । यसको ठूलो महिमा रही आएको छ ।’

Patal-bhumesowr1--1709784364.jpg
 

महाशिवरात्रीमा मेला 

पाताल भुवनेश्वर धाममा हरेक महाशिवरात्रीको दिन ठूलो मेला लाग्ने गर्दछ । सो मेलामा जिल्लाका विभिन्न ठाउँबाट दर्शन गर्न आउनेको ठूलो भीड लाग्ने गर्दछ । पाताल भुवनेश्वर धामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको पाटन नगरपालिका खोल्सीका धर्मानन्द भट्टले बताए । उनले भने ‘पाताल भुवनेश्वर धामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास छ । शुद्ध मनले दर्शन गरेमा मनोकामना पूर्ण हुन्छ ।’

महाशिवरात्रीको मेलाको बेला मात्रै नभएर अन्य समयमा समेत सो धाममा दर्शनार्थीहरु पुग्ने गर्दछन् । श्रावण महिनामा समेत पाताल भुवनेश्वर धाममा दर्शनार्थीहरुको घुइँचो लाग्ने गरेको स्थानीय कर्णबहादुर पाण्डेले बताए । 
महाशिवरात्रीको अवसरमा पाताल भुवनेश्वर धाममा लाग्ने मेलाको चहलपहल हुन थालेको छ । भोलि लाग्ने मेलामा दर्शनार्थीहरुलाई सहज होस भनेर सरसफाइ लगायतका कामहरु गर्ने तयारी भएको स्थानीय मोहनबहादुर बिष्टले बताए । 

पछिल्लो समयमा पाताल भुवनेश्वर धाम परिसरको वन क्षेत्रलाई धार्मिक वनको रुपमा स्थापना गरिएको छ । 

patal-bhumewsor-2-1709784394.jpg
 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  ०९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update