Sagun Khabar
आज हिमाली र पहाडी क्षेत्रमा होली पर्व मनाइँदै

बैतडी –आज पहाडी र हिमाली क्षेत्रमा फागु अर्थात् होली पर्व मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली मनाउने गरिन्छ । आज बैतडीसहित पहाडी क्षेत्रमा र भोलि तराईका जिल्लामा होली मनाइन्छ ।

सरकारले आज पहाडी र हिमाली क्षेत्रमा सार्वजनिक बिदा दिएको छ । तराईमा भोलि सार्वजनिक बिदा छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रुपमा फागु पर्व मनाउने प्रचलन छ । हिरण्यकशिपुले बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रल्हादसहित पस्न लगाउँदा होलिका भष्म भएकी र भक्त प्रल्हाद भने सकुशल निस्केको प्रसङ्ग पुराणमा उल्लेख छ ।

शक्तिको दुरुपयोग गर्ने होलिका मारिएको भन्दै होलिकादहन भनी चीरदाह गरेर आपसमा रङ्ग, अबीर लगाएर खुशीयाली मनाएर होली खेल्ने परम्पराको शुरुवात भएको मानिन्छ ।

प्रहरीले होलीलाई सभ्य तरिकाले मनाउन आग्रह गरेको छ । होहल्ला नगरी, जाँडरक्सी तथा लागुपदार्थ नखाई एकआपसमा रमाएर होली मनाउन प्रहरीले अनुरोध छ । 

बैतडीका विभिन्न स्थानमा विद्यालय, क्याम्पस, क्लब र समूहहरुले होलीको आयोजना गरेका छन् । स्थानीय संस्कृतिक र परम्पराको जगेर्ना गर्नका लागि होली पर्व मनाएको दशरथचन्द नगरपालिका १ स्थित सत्यम् शिवम् सुन्दरम् समाजका महेश भट्टले बताए । 

परापूर्वकालदेखि चल्दै आएको होली पर्वको जगेर्ना गर्ने र त्यसबाट संकलन भएको रकमले सामाजिक कार्य गर्ने योजना रहेको भट्टले बताए । 

जिल्लाभरी अहिले होली पर्वको रौनक रहेको दशरथचन्द नगरपालिका ४ का आनन्दमणी भट्टले बताए । 
 

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  ०७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update