Sagun Khabar
बैतडीमा ४० हजार बढी परिवार स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध 

बैतडी–बैतडीमा ४० हजारभन्दा बढी परिवार स्वास्थ्य बीमा आवद्ध भएका छन् । स्वास्थ्य बीमा कार्यक्रम लागू भएको ८ बर्षमा बैतडीमा ४० हजार २ सय ९७ परिवार स्वास्थ्य बीमामा आवद्ध भएका स्वास्थ्य बीमा बोर्डको जिल्ला सम्पर्क कार्यालयका प्रमुख जमनसिंह बडालले जानकारी दिए । 

गरिब नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउनका लागि शुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बिमितले १ लाख रुपैयाँसम्मको उपचार निशुल्क पाउने गरेका छन् । ३ हजार ५ सय प्रिमियर तिरेर ५ जनासम्मको परिवारले १ लाख सम्मको उपचार निशुल्क पाउने गरेको कार्यालय प्रमुख बडालले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

बैतडीमा ३ हजार ५ सय रुपैयाँ प्रिमियम तिरेर ३ हजार ८३४ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् भने ७ सय ११ महिला स्वास्थ्य स्वयंसेविकाका परिवार बीमा आवद्ध भएका छन् । महिला स्वास्थ्य स्वयं सेविकाको हकमा संघीय सरकारले आधा र सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले आधा प्रिमियम रकम तिर्ने गरेको बडालले बताए । 

यस्तै ३३ हजार ७९३ जेष्ठ नागरिक, ४ सय ५ परिवार एचआइभी संक्रमित, ७० परिवार कुष्ठ रोगी, १ हजार ३२७ परिवार अपांगता भएका व्यक्ति र १ सय ५७ परिवार एमडीआर टिबी संक्रमित स्वास्थ्य बीमामा आवद्ध भएका छन् । उनीहरुको निशुल्क स्वास्थ्य बीमा गर्ने गरिएको कार्यालय प्रमुख बडालले बताए । 

बैतडीमा अहिलेसम्म स्वास्थ्य बीमाको प्रिमियम र नवीकरण शुल्क बाफत १ करोड ६३ लाख ५४ हजार ५१३ रुपैयाँ संकलन भएको छ । 

बैतडीमा स्वास्थ्य बीमामा आवद्ध भएका व्यक्तिहरुका लागि जिल्ला अस्पताल बैतडी, पाटन प्राथमिक स्वास्थ्य केन्द्र र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीलाई सूचीकृत स्वास्थ्य संस्थाको रुपमा राखिएको छ । ती संस्थाहरुमा बिमितहरुको निशुल्क उपचार हुने कार्यालय प्रमुख बडालले बताए । 

यसैबीच बैतडीमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर आठौं स्वास्थ्य बीमा बार्षिकोत्सव कार्यक्रम मनाइएको छ । स्वास्थ्य बीमाको सम्पर्क कार्यालय बैतडीमा आयोजना गरिएको बार्षिकोत्सव कार्यक्रममा स्वास्थ्यकर्मी, बीमा कार्यालयका कर्मचारी, दर्ता सहयोगी लगायतको सहभागिता रहेको थियो । 

तपाँईको स्वास्थ्य हाम्रो अठोट, स्वास्थ्य सेवामा सर्वव्यापी पहुँचका लागि स्वास्थ्य बीमा भन्ने मूल नाराका साथ बार्षिकोत्सव मनाइएको कार्यालय प्रमुख बडालले बताए । पूँजीको अभावमा उपचार गर्न नसक्ने नागरिकका लागि स्वास्थ्य बीमा बरदान सावित भएको बताउँदै बडालले सबैलाई स्वास्थ्य बीमामा आवद्ध हुन आग्रह समेत गरेका छन् । 
 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update