Sagun Khabar
सार्वजनिक स्थानमा धूम्रपान गर्ने बैतडीका १० जना कारबाहीमा

बैतडी- सार्वजनिक स्थानमा धूम्रपान गर्ने बैतडीका १० जना कारबाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीले सार्वजनिक स्थानमा धूम्रपान गर्ने १० जनालाई कारबाही गरेको हो ।

फागुन ११ गते  देखि चैत्र २९ गते सम्म  सार्वजनिक स्थानमा धूम्रपान गर्ने १० जना कारबाहीमा परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता खेमविक्रम केसीले जानकारी दिए । लागुऔषध विरुद्धको महाअभियान अन्तर्गत कार्यक्रम सञ्चालन गरेर सार्वजनिक ठाउँमा धूम्रपान गर्नेहरुलाई कारबाही गर्ने  गरिएको  उनले बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

सार्वजनिक स्थानमा धूम्रपान सेवन गर्नेलाई जनही सय रुपैयाँ जरिवाना गर्ने गरिएको छ ।  कारबाहीमा परेका व्यक्तिहरुबाट १ सय रुपैँया जरीवाना समेत  असुल गरिएको प्रवक्ता केसीले बताए । गत माघमा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा लगायतका सरोकारवाला निकायको उपस्थितिमा बसेको  बैठकले  जिल्लाका सार्वजनिक स्थानमा धूम्रपान निषेधका लागि निर्णय गरेको थियो ।

सार्वजनिक स्थानमा धूम्रपान निषेधका लागि माघ २६ बाट प्रचारप्रसार अभियान शुभारम्भ गरेको प्रहरीले फागुन ११  गतेबाट अनुगमन गरेर कारबाही थालेको थियो । प्रहरीले अहिले कसैलाई सार्वजनिक स्थानमा धूम्रपान गरेको  देखेमा  प्रचलित कानून बमोजिम कारबाही गरिरहेको हो ।

सार्वजनिक स्थानमा धूम्रपान निषेध गर्नका लागि प्रहरी कार्यालय, मातहतका चौकी, सञ्चार माध्यम सामाजिक सञ्जालबाट प्रचारप्रसार र माइकिङ समेत गरिएको  थियो । सार्वजनिक स्थानमा धूम्रपान निषेध पश्चात पनि धूम्रपान गर्ने अटेरीहरुलाई  प्रहरीले  कारबाही गरेको हो । प्रहरीहरुले अहिले  नियमित अनुगमन गरिरहेको र अवज्ञा गर्नेहरु जुनसुकै समयमा कारबाहीमा पर्ने जिल्ला प्रहरी कार्यालय बैतडीले  जनाएको  छ । 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  ०७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update