Sagun Khabar
बैतडीको मुस्याचोर बजारमा पुग्यो खानेपानी, पूर्व प्रदेश सांसद भट्टद्वारा उद्घाटन

बैतडी- बैतडीको दशरथचन्द नगरपालिका वडा नं १ मुस्याचोरमा खानेपानी योजनाको  उद्घाटन गरिएको छ । वडामा निर्माणाधिन पडेलीगाउँ–मुस्याचोर–गुरुखोला लिफ्टिङ खानेपानी योजनाको शनिवार एक  कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।

बैतडीको क्षेत्र नं ख बाट निर्वाचित पूर्व सुदूरपश्चिम प्रदेश   सभा सदस्य लिलाधर भट्टले खानेपानी योजनाको उद्घाट गरेका हुन् । उनले सुख्खा फलफूल विकास केन्द्र परिसरमा बनेको खानेपानीको ट्याङ्कीमा रिबन काटेर योजनाको उद्घाटन गरेका  हुन् । पूर्व प्रदेश सांसद भट्टले यो खानेपानी योजनाका लागि पहल गरेका थिए । उनलाई यहाँका नागरिकहरुले  दोसल्ला ओडाएर सम्मान समेत गरेका छन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

खानेपानीको समस्या समाधानका लागि  पहल गरेको  भन्दै उनलाई  सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै पूर्व  प्रदेश सांसद एवं एमाले  नेता भट्टले आफुले निर्वाचित भएपछि २२ ओटा लिफ्ट खानेपानी योजनाका लागि पहल गरेको बताए । ती  मध्ये उपभोक्ता समितिको सक्रियता भएको  ठाउँका योजना निर्माण सम्पन्नको चरण रहेका उनले  बताए । आफु निर्वाचि भएका बेला पनि जनताको साथमा रहेको र अहिले पनि जनताकै साथ रहेर काम गरिरहेको उनको भनाई छ । अगामी दिनमा पनी जनताका समस्या समाधानका लागि पहल गर्ने उनले बताए । यस्तै कार्यक्रममा बोल्दै दशरथचन्द नगरपालिकाका नगर प्रमुख  पुष्कर राज जोशी लख्खाभाइले नगरबाट हुने सहयोगका लागि आफु तयार रहेको बताए ।

लिफ्टिङ प्रणाली मार्फत सतबाँझ खोलाको पानी मुस्याचोर बजारमा पुगेको हो । विकास प्रेमि सबैको  सहयोगमा सतबाँझ  खोलाको पानी मुस्याचोर बजारमा पुर्याउन  सफल भएका पडेलीगाउँ–मुस्याचोर–गुरुखोला लिफ्टिङ खानेपानी  योजना निर्माण समिति अध्यक्ष नरबहादुर टेरले जानकारी दिए । पाइपलाइन बिछ्याएर मुस्याचोर बजारमा पानी वितरण गरिएको उनले बताए । सतबाँझ खोलामा ६३ हजार क्षमताको ट्याङ्की निर्माण गरेर  करिब ८ सय मिटरमाथि डाँडामा बनेको ८५ हजार लिटर क्षमताको ट्याङ्कीबाट खानेपानी वितरण सुरु गरिएको युवा निर्माण व्यवसायी एवं खानेपानी योजना निर्माण समिति कोशाध्यक्ष केशब भट्टले बताए ।

यो योजनाबाट १ सय ३० घर परिवार लाभान्वित हुने उनले  बताए । सुदूरपश्चिम प्रदेश सरकारको बजेट मार्फत ४ वर्ष पहिले  निर्माण प्रारम्भ भएको यो खानेपानी योजना अहिले निर्माण सम्पन्न हुने चरणमा छ । केहि प्राविधिक समस्याका कारण बिचमा रोकिएको खानेपानी योजनामा यहाँका निर्माण व्यवसायीले सक्रियता देखाएपछि धमाधम काम भएर अहिले मुस्याचोरमा पानी पुगेको युवा भुपेन्द्र चन्दले बताए । मुस्याचोर बजारमा खानेपानी पुगेपछि यहाँका नागरिकहरु खुसि भएका छन् । खानेपानीको अभाव हुँदै आएको बजारमा खानेपानी पगुेपछि धेरै  खुसि लागेको युवा एवं व्यवसायी दिनेश प्रशाद भट्टले बताए ।

पानी अभावले होटेल सञ्चालनमा समस्या हुँदै आएकोमा अब सहज  भएको  उनले बताए । खानेपानीका लागि धेरै दुख भोगेको भन्दै स्थानीय कृष्ण दत्त भट्टले अब राहत मिलेको बताए । खानेपानी योजनाको  केहि काम बाँकी रहेकाले  छिटै  सेवा क्षेत्र भित्रका नागरिकहरुको घरघरमा पानी पुग्ने निर्माण समितिको  दावी छ ।  खानेपानी योजना उद्घाटन कार्यक्रममा दशरथचन्द नगरपालिकाका नगर प्रवक्ता अजब बहादुर  पाण्डे,वडा नं १ का वड अध्यक्ष बिष्णु दत्त भट्ट, विभिन्न राजनीतिक दलका प्रतिनिधि , प्रहरी,  खानेपानी तथा सरसफाई डिभिजन कार्यालयबैतडीका  प्राविधिक, बजार व्यवसायी लगायत स्थानीय नागरिकहरुको सहभागिता रहेको  थियो। 

प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update