Sagun Khabar
नेपाल भ्रमणमा रहेका कतारी राजा स्वदेश फिर्ता

काठमाण्डौ – कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमण पूरा गरेर स्वदेश फर्किनुभएको छ । उहाँ आज दिउँसो स्वदेश फर्किनुभएको हो ।

कतारका अमिरलाई बिदाइ गर्न राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र मन्त्रिपरिषद्का सदस्यलगायत उच्चपदस्थ अधिकारी, नेपालमा रहेका कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि विमानस्थल पुगेका थिए । उहाँलाई नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो ।

स्वास्थ्य सन्देश
Atrya hospital

राष्ट्रपति पौडेलको निमन्त्रणमा कतारका अमिर दुई दिने राजकीय भ्रमणका लागि हिजो नेपाल आइपुग्नुभएको थियो । हिजो नै राष्ट्रपति पौडेल र कतारका अमिरबीच शीतल निवासमा भेटवार्ता भएको थियो । उहाँको सम्मानमा राष्ट्रपतिले सोल्टी होटलमा रात्रिभोजको आयोजना गर्नुभएको थियो ।

आज बिहान प्रधानमन्त्री प्रचण्ड र कतारका अमिर थानीबीच भेटवार्ता भएको थियो । भेटवार्तापछि दुवै देशका प्रतिनिधिमण्डलले विभिन्न आठ वटा क्षेत्रमा सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कुटनीतिक सम्बन्ध स्थापना भएपछि कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो । नेपालले सन् २००० जुलाई ११ मा दोहामा राजदूतावास स्थापना गरेको थियो भने कतारले काठमाण्डौमा सन् २०११ अगस्टमा राजदूतावास स्थापना गरेको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update