Sagun Khabar
“मातृत्वको महिमा : समर्पण र आदर”
स्वास्थ्य सन्देश
Atrya hospital

भान्सा कोठाको तख्खतामा लस्करै राखिएको
अचारको डब्बामा डम्म ढुसीको कुहिरो लागेको छ
एक सप्ताहदेखि जुठा भाँडाले स्नान गरेका छैनन् 
ग्यास चुलोको वरिपरि चाउचाउका खोस्टाहरूले
खात लगाएर विश्राम गरिरहेका छ्न्
साङ्लाले जुलुस लिएर आक्रमण गर्दैछ
अन्न भण्डारको चौकीमा
बेताल बेतालको संगीत चलिरहेछ
बेस्वाद बेस्वाद छ
जब देखि आमाको हातका चुराहरूले
छिनछिन गीत गाउन छोडेका छन्
ह्याङ्गरमा खिजीमिजी भएर बसेका पाइन्टले 
इस्त्रीको चुम्बन पाएको छैन्
शर्टसँग सम्बन्ध विच्छेद गरेर गएका टाँकहरू
पुनर्स्थापित हुन पाएका छैनन् 
सोफालाई गर्लम्मै अँगालो हालेर बसेका छन– धुलोहरूले 
एस्ट्रेमा चुरोटको ठुटाहरूले बनाएको छ– सगरमाथा 
बिस्तारामा राज गरेर बसेका छन–उडूसहरूले
झ्यालमा माकुराहरू  सर्कस देखाइरहेका छन्
बेरंग बेरंग छ भित्ताहरू
जब देखि आमाको कुच्चोले चित्र कोर्न छोडेका छन्
बगैँचाभरि  फूलहरूले निर्जल अनशन बसेका छन्
तुलसीको मजेरोमा झारपातको पर्दा लागेको छ
आँगनमा डम्पिङ्ग साइट मानचित्र कोरिएको छ
सहरको नामी निर्माण कम्पनीहरू 
सपनाको सुन्दर घर बनाउन
टेलिभिजन,रेडियो ,पत्रपत्रिका र होर्डिङ्बोर्डमा
छड, सिमेन्ट, इट्टा , ढुङ्गा बालुवाको
विज्ञापन गरिरहेका छ्न्
आमाको ममता,करूणा र आशीर्वादविना ;
एउटा घर कसरी पूर्ण घर बन्दो रहेछ र?
साहुजी के तपाईंको हार्डवयर पसलमा पाइन्छिन आमा? 
त्यसैले आमा बिनाको संसार कल्पना भन्दा बाहिरको छ । 
आमा तिम्रो काखमा, मैले मेरो घर भेट्टाएँ, मायाको ठाउँ जहाँ म घुम्न सक्छु। तिम्रो कोमल स्पर्श, तिम्रो मार्गदर्शक प्रकाशले मेरो संसारलाई आकार दिएको छ, यति शुद्ध र उज्यालो। आमा मेरो चट्टान, मेरो आनन्द, मेरो हृदय। मातातीर्थ औसी अर्थात आमाको मुख हेर्ने दिवसको अवसरमा सम्पूर्ण सन्तानकी सृष्टिकर्ता, ममताकी खानी, लाखौ दुःख–कष्ट बिर्सेर सन्तानकै खुसीमा दत्तचित्त रहने सम्पूर्ण आमाहरुमा लाखौ–लाख प्रणाम तथा शुभकामना। 


 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ०९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update