Sagun Khabar
बैतडीको सुर्नयामा दुई दिने निशुल्क आँखा शिविर 

बैतडी –बैतडीको सुर्नयामा दुई दिने निशुल्क आँखा शिविर बुधबारबाट शुरु भएको छ । सुर्नया गाउँपालिकाको आयोजना र च्यारीटी हेल्थ फाउण्डेसन तथा धनगढी नेत्रालयको प्राविधिक सहयोगमा आँखा शिविर सञ्चालन भएको हो । 

गाउँपालिकाको वासुलिङ्ग स्वास्थ्यचौकी र शंकरपुर स्वास्थ्यचौकीमा शिविर सञ्चालन भएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले जानकारी दिए । वासुलिङ्ग स्वास्थ्यचौकीमा स्क्रीनिङ मात्रै गरिएको र शंकरपुर स्वास्थ्यचौकीमा शल्यक्रियासहितको सेवा प्रदान भइरहेको स्वास्थ्य शाखा प्रमुख महराले बताए । 

धनगढी नेत्रालयमा कार्यरत चिकित्सकहरुको टीमले आँखा परीक्षणका साथै शल्यक्रिया सेवा दिइरहेका धनगढी नेत्रालयका अध्यक्ष गजेन्द्रबहादुर चन्दले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

शिविरको पहिलो दिन दुवै ठाउँमा ४ सय बढी नागरिकले आँखाको परीक्षण गराएका छन् । ती मध्ये वासुलिङ्ग स्वास्थ्यचौकीमा आएका सेवाग्राहीमध्ये ४४ जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको छ । उनीहरुको भोलि शंकरपुर स्वास्थ्यचौकीमा आँखाको शल्यक्रिया गरिने स्वास्थ्य शाखा प्रमुख महराले बताए । 

यस्तै शंकरपुर स्वास्थ्यचौकीमा आएका सेवाग्राहीमध्ये ५७ जनाको आँखाको शल्यक्रिया गर्नुपर्ने देखिएको छ । ती मध्ये केहीको आज शल्यक्रिया गरिएको छ भने बाँकी रहेकाहरुको भोलि शल्यक्रिया गरिने बताइएको छ । 

आँखाको परीक्षण गर्दा मोतीबिन्दु, जलबिन्दु र मासु पलाएको समस्या देखिएकाहरुको शल्यक्रिया गर्ने गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए । 

शिविरको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवर र उपाध्यक्ष मञ्जु बोहराले संयुक्त रुपमा उद्दघाटन गरे । 

आँखाको समस्या भएका नागरिकलाई सहज होस भनेर च्यारीटी हेल्थ फाउण्डेसन र धनगढी नेत्रालयको समन्वयमा आँखा शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए ।  

शिविरको उद्दघाटन सत्रमा बोल्दै गाउँपालिका उपाध्यक्ष मञ्जु बोहराले यस्ता शिविरले ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा पहुँच बढ्ने विश्वास व्यक्त गरिन् । 
 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update