Sagun Khabar
बैतडीको सुर्नयामा निशुल्क आँखा शिविर सम्पन्न, ८ सय बढीले सेवा लिए 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका वडा नं ६ स्थित शंकरपुर स्वास्थ्यचौकीमा सञ्चालन भएको दुई दिने निशुल्क आँखा शिविरबाट ८ सय बढी नागरिकले सेवा लिएका छन् । 

सुर्नया गाउँपालिकाको आयोजना, च्यारीटी हेल्थ फाउण्डेसन र धनगढी नेत्रालयको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरबाट ८ सय ५ जनाले सेवा लिएका सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

हिजो र आज गरी दुईदिन सम्म सञ्चालन भएको शिविरमा १३५ जनालाई चस्मा वितरण गरिएको छ भने ९५ जनाको शल्यक्रिया गरिएको छ । आँखामा मोतीबिन्दु, जलबिन्दु, मासु पलाएको लगायतका समस्या देखिएका नागरिकको शल्यक्रिया गरिएको हो । यस्तै ५ सय ७५ जनालाई औषधि वितरण गरिएको महराले बताए । 

हिजो वासुलिङ्ग स्वास्थ्यचौकीमा समेत आँखा परीक्षण शिविर सञ्चालन भएको थियो । उक्त शिविरमा आएका मध्ये शल्यक्रिया गर्नुपर्ने देखिएका नागरिकको शंकरपुरमै शल्यक्रिया गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए । 
डा. दिपक खड्का नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोलीले शिविर सेवा दिएको थियो । 

गाउँकै स्वास्थ्यचौकीमा  निशुल्क आँखा शिविरमार्फत सेवा लिन पाएपछि स्थानीय नागरिक खुसी भएका छन् । 

यसअघि पुर्चौंडी नगरपालिकामा सञ्चालन भएको शिविरबाट ८ सय ५ जनाले सेवा लिएका धनगढी नेत्रालयका अध्यक्ष गजेन्द्रबहादुर चन्दले बताए । पुर्चौंडीमा आँखामा समस्या देखिएका १ सय ४३ जनाको शल्यक्रिया गरिएको थियो भने १ सय ६० जनालाई निशुल्क चस्मा वितरण गरिएको थियो । शिविरमा ४ सय ९९ जनालाई औषधि वितरण गरिएको अध्यक्ष चन्दले बताए । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update