Sagun Khabar
बैतडीमा अन्तरपालिका भलिबल : पुरुषतर्फ मेलौली र दनपा ‘ए’फाइनलमा प्रवेश 

बैतडी–बैतडीको देहीमाण्डौंमा जारी अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको पुरुषतर्फ मेलौली नगरपालिका र दशरथचन्द नगरपालिकाको ‘ए’टीम फाइनलमा प्रवेश गरेका छन् । 

सिगास गाउँपालिकालाई ३–२ सेटले पराजित गर्दै मेलौली फाइनलमा पुगेको हो भने सुर्नया गाउँपालिकालाई ३–१ सेटले पराजित गर्दै दशरथचन्द नगरपालिकाको ‘ए’टीम फाइनलमा पुगेको हो । 

महिला र पुरुष दुवैको फाइनल खेल भोलि हुने भलिबल प्रशिक्षक हरिसिंह भण्डारीले बताए । महिलातर्फ मेलौली र शिवनाथ यसअघि नै फाइनलमा प्रवेश गरिसकेका छन् । 

Atrya hospital

यस्तै पुरुषतर्फ तश्रो स्थानका लागि सुर्नया र सिगासबीचको खेल भोलि बिहान हुने उनले बताए ।

यस्तै महिलातर्फ दनपाको टीमले तृतीय स्थान हात पारेको छ । पुर्चौंडी नगरपालिकाको टीमलाई ३–० ले पराजित गर्दै दनपाले तृतीय स्थान हात पारेको हो । 

भोलि (मंगलबार) फाइनल खेलसंगै समापन समारोहको समेत आयोजना गरिनेछ । उक्त समारोहमा विजेता टीमहरुलाई पुरस्कार, प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । 

नेपाल खेलकुद महासंघको आयोजनामा भइरहेको अन्तरपालिका भलिबल प्रतियोगितामा जिल्लाका स्थानीय तहका टोलीको सहभागिता छ । प्रतियोगिताको प्रथम पुरुस्कार ७७ हजार ७७७ रुपैयाँ रहेको छ । दोस्रो पुरुस्कार ५५ हजार ५५५ रुपैयाँ रहेको छ भने तेस्रो पुरुस्कार ४४ हजार ४४४ रुपैयाँ र सान्त्वना पुरुस्कार ३३ हजार ३३३ रुपैयाँ रहेको छ । यो पुरस्कार महिला र पुरुष दुवैतर्फ समान रुपले प्रदान गरिनेछ । 

प्रतियोगिताका उत्कृष्ट खेलाडी लगायत विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पुरुस्कारको व्यवस्था गरिएको नेपाल खेलकुद महासंघ बैतडीका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिए ।

प्रतियोगीताले भलिबल खेलको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास लिइएको अध्यक्ष चन्दले बताए ।
 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update