Sagun Khabar
सुदूरपश्चिममा आज पुषे पन्ध्र मनाइँदै 

बैतडी –आज पौष १५, सुदूरपश्चिममा ठूलीरात अर्थात पुसे पन्ध्रका रुपमा धुमधामसँग मनाइँदै छ । आजको रात सबैभन्दा लामो हुने विश्वास भएकाले आजको रातलाई ठूलीरात मानी राति मिठो–मिठो खानेकुरा खाएर रमाईलो गरी जाग्राम बस्ने, डेउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाईधुवाई गर्ने चलन रही आएको छ । 

पुस १५ लाई ठूलीरातको रुपमा मनाउने चलन छ । पहिला पहिला उखु पेलेर आजको रातभरी गुड बनाउने,आइना, बातै हाल्ने चलन थियो । तर पछिल्लो समयमा यी चलनहरु हराउँदै गएका छन् । पुस १५ को रातमा रामायण, महाभारत जस्ता धार्मिक ग्रन्थहरु बाचन गर्ने, गाउँका मान्छे एकै घरमा जमा हुने चलन रही आएको भएपनि पछिल्लो समयमा यी चलनहरु हराउँदै गएका स्थानीय संस्कृतिका जानकार देवदत्त भट्टले बताए । 

Atrya hospital

पुुस १५ मा तरुल, सखरगञ्ज, फर्सी लगायतका कन्दमूल खाने चलन रहेको छ भने घिउमा पकाएका सेलरोटी,माँडा खाने चलन पनि रहेको भट्टले बताए । उनले भने,‘पुसको महिना धेरै चिसो हुने भएकाले चिसोबाट बच्नका लागि घिउमा पकाएका खानेकुरा खाने चलन रही आएको छ ।’

आजको दिन धेरै ठाउँमा वनभोज गर्ने चलन पनि रही आएको छ । यद्यपि पछिल्लो समयमा यो चलन हराउँदै गएको छ । पुस महिनाको १५ गते रातिको समयमा गाउँका सबै मानिसहरु एकै ठाउँमा जमा भएर ‘आइना, बातै’हाल्ने चलन रहेको भएपनि यो चलन पछिल्लो समयमा हराइसकेको डडेल्धुराको भागेश्वरकी कमला बोहराले बताइन् । उनले भनिन् ‘पहिलाको जस्तो पुसे १५ को रौनक छैन् । मिठा परिकार बनाएर एकै ठाउँमा बसेर खाने चलन थियो । ‘आइना,बातै हाल्ने चलन थियो । तर पछिल्लो समयमा यी सबै चलन हराएका छन् ।’

पुस १५ दिन मनाइने पुसे पन्ध्र पर्वमा विवाहित छोरीबेटीलाई पनि घरमा आमन्त्रण गरी भव्य रूपमा स्वागत सत्कार गर्ने चलन रही आएको छ । विशेषगरी रातमा नसुतेर यो पर्व मनाउने परम्परा रहे पनि बदलिँदो परिवेशमा यसको खास महत्व दर्शाउने गरी मनाउने परम्परा भने हराउँदै जान थालेको छ ।

डिसेम्बर २२ तारिखलाई विश्वभरी नै सबैभन्दा छोटो दिन भनिएपनि नेपाली समाजमा भने पुष १५ लाई छोटो दिन मान्ने गरिन्छ । पुस १५ पछि दिनहरु लम्बिँदै जाने र रातहरु छोटो हुँदै जाने गर्दछ ।
 

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  ०७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update