Sagun Khabar
बैतडीमा आप्रवासी स्रोत केन्द्रको उद्दघाटन 

बैतडी–बैतडीमा आप्रवासी स्रोत केन्द्रको उद्दघाटन गरिएको छ । जिल्ला प्रशासन कार्यालयभित्र रहेको स्रोत केन्द्रको आज एक कार्यक्रमकाबीच सुदूरपश्चिमकी सामाजिक विकास राज्य मन्त्री सरस्वती खड्काले उद्दघाटन गरिन् । 

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयद्वारा सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रम (सामी)को सहयोगमा आप्रवासी स्रोत केन्द्र सञ्चालनमा ल्याइएको हो । 

सुरक्षित वैदेशिक रोजगारीका लागि जानकारी दिने, वैदेशिक रोजगारीमा जान आवश्यक पर्ने कागजपत्रको बारेमा जानकारी दिने, परामर्श दिने, सहजीकरण गर्ने लगायतका काम गर्नका लागि आप्रवासी स्रोत केन्द्रको स्थापना गरिएको सामी परियोजनाका प्रदेश कार्यक्रम अधिकृत पञ्चराम चौधरीले बताए । 

सुदूरपश्चिमका सबै जिल्लामा आप्रवासी स्रोत केन्द्र सञ्चालनमा ल्याउने उद्देश्य रहेको र केही जिल्लामा स्रोत केन्द्र सञ्चालनमा आइसकेका उनले बताए । 

स्रोत केन्द्रको उद्दघाटन गर्दै राज्य मन्त्री खड्काले स्रोत केन्द्रले वैदेशिक रोजगारमा जाने व्यक्तिहरुलाई सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । वैदेशिक रोजगारीका बिषयमा जानकारी नहुँदा कतिपय नागरिक ठगिएको भन्दै उनले स्रोत केन्द्रले सुरक्षित वैदेशिक रोजगारीमा सहयोग पुग्ने बताइन् । 
 

प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  १८:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update