Sagun Khabar
कोदोखेती गर्ने किसानलाई शिवनाथ गाउँपालिकाले चार लाख अनुदान दिने 

बैतडी –बैतडीको शिवनाथ गाउँपालिकाले कोदोखेती प्रवर्धन गर्न किसानलाई चार लाख रुपैयाँ अनुदान दिने भएको छ । गाउँपालिकामा पछिल्लो समय कोदोखेती घट्न थालेपछि किसानलाई अनुदान दिएर कोदोखेती प्रवर्धन गर्न लागिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए । 

कोदोखती प्रवर्धनका लागि प्रदेश सरकारबाट गाउँपालिकालाई चार लाख रुपैयाँ बजेट प्राप्त भएपछि सूचना जारी गरेर किसानबाट आवेदन माग गरिएको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताए । कोदोखेती गर्ने किसानले प्रति रोपनी सात सय रुपैयाँका दरले अनुदान पाउने उनले बताए । उनले भने, ‘प्रति रोपनी सात सय रुपैयाँका दरले अनुदान वितरण गर्दा कम्तीमा पनि साढे पाँचसय रोपनी जग्गामा कोदो खेती हुने अपेक्षा गरेका छौं ।’

गाउँपालिकाले यसअघि गर्भवती आमाहरुलाई कोसेलीका रूपमा कोदोको पिठो दिने निर्णय गरेको थियो । कोदो लगाउने चलन हराउँदै जान थालेपछि किसानलाई उत्पे्ररणा दिन कोदोमा अनुदान कार्यक्रम शुरु भएको गाउँपालिका अध्यक्ष साउँदले बताए । 

उनले पालिकाभित्रका विद्यालयमा दिवा खाजाका रूपमा विद्यार्थीलाई कोदोको परिकार बनाएर खुवाउने निर्णय भएको बताए । उनले भने, ‘विद्यालयमा दिवा खाजाको रुपमा गाउँमै फलेको कोदो, गेडागुडी र स्थानीय अन्नलाई प्रयोग गर्नुपर्ने कुरामा जोड दिएका छौं ।’

बैतडीका ग्रामीण क्षेत्रमा एक दशक अघिसम्म कोदोको रोटी र हलुवा खाने चलन थियो । आधुनिकतासँगै गाउँमा विभिन्न कम्पन्नीले उत्पादन गरेको चामल, चाउचाउ र चाउमिन भित्रिएपछि खानपिनमा समेत परिवर्तन आएको छ । 

गाउँमा फल्ने कोदोको विशेषताका बारेमा किसानलाई जानकरी गराएर कोदोको बिस्कुट, केक, सेलरोटी जस्ता परिकारका बारेमा पनि कृषि शाखाबाट जानकारी गराइने प्रमुख प्रशासकीय अधिकृत महताले बताए ।

कोदो स्वास्थ्यका लागि पनि निकै लाभदायक खाद्यान्न रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । प्रशस्तमात्रामा पौष्टिक तत्व पाइने कोदोको प्रयोगले विभिन्न रोगहरुसंग लड्ने प्रतिरोधात्मक शक्तिको विकास हुने उनले बताए । 
 

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १४:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update