Sagun Khabar
कर्मचारीहरुले सिडिओमार्फत सभामुखलाई पठाए ज्ञापन पत्र 

बैतडी–बैतडीमा क्रियाशील निजामती कर्मचारीका संगठनहरुले प्रमुख जिल्ला अधिकारीमार्फत सभामुखलाई ज्ञापन पत्र पठाएका छन् । 

सोमबार जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारीमार्फत सभामुख देवराज घिमिरेलाई ज्ञापन पत्र पठाएको नेपाल निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष मनोज भट्टले बताए ।

देशभरबाट सभामुखलाई ज्ञापन पत्र पठाउने कार्यक्रम अनुसार बैतडीबाट पनि ज्ञापन पत्र पठाइएको नेपाल निजामती कर्मचारी संगठन बैतडीका अध्यक्ष पदम कार्कीले बताए । 

प्रमुख जिल्ला अधिकारीमार्फत सभामुखलाई पठाएको ज्ञापन पत्रमा संघीय निजामती सेवा ऐन जारी भएपछि संघीय कानुन बमोजीम समायोजनको व्यवस्था गर्नुपर्ने, अन्तरप्रदेश सरुवाको व्यवस्था गर्नुपर्ने, अस्थायी तथा करारमा कार्यरत कर्मचारीहरुलाई एक पटक उमेरको हदम्याद नलाग्ने गरी सीमित प्रतियोगिताबाट स्थायी गर्नुपर्ने, स्वास्थ्य सेवा र संसद सेवालाई निजामती सेवामा समावेश गर्नुपर्ने लगायत ११ बुँदा समेटिएका नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका जिल्ला इञ्चार्ज मदन कुँवरले बताए । 

निजामती कर्मचारीहरुले राखेका मागहरुप्रति सरकार र संसदको ध्यानाकर्षण गराउन ज्ञापन पत्र पठाएको कर्मचारीहरुले बताएका छन् । विभिन्न मागहरु राखेर देशभरका शिक्षकहरुले आन्दोलन गरिरहेका बेला निजामती कर्मचारीहरुले समेत आन्दोलनको तयारी गरिरहेका छन् । 
 

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १८:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update