
बैतडी–बैतडीको शिवनाथमा सञ्चालन भएको दुई दिने निशुल्क आँखा शल्यक्रिया शिविरमा ४ सय ५० जनाले सेवा लिएका छन् ।
शिवनाथ गाउँपालिका र च्यारिटी हेल्थ फाउण्डेसन नेपालको आयोजना तथा धनगढी नेत्रालय र श्रीकृष्ण आँखा अस्पताल प्रालि टीकापुरको प्राविधिक सहयोगमा सम्पन्न भएको शिविरमा १ सय १३ जनाको आँखाको शल्यक्रिया गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए ।
शिविरमा १ सय १५ जनालाई निशुल्क चस्मा वितरण गरिएको छ भने ४ सय ५० जनाको आँखाको चेकजाँच गरिएको छ ।
गाउँपालिकाको केन्द्र सुल्लेखानमा आयोजना गरिएको शिविरमा बरिष्ठ नेत्र बिशेषज्ञ डाक्टर विद्याप्रसाद पन्त नेतृत्वको टीमले सेवा दिएको थियो ।
गाउँपालिकाबासीहरुलाई सहज होस भनेर विभिन्न संघसंस्थाहरुसंग समन्वय गरेर आँखा शिविरको आयोजना गरिएको अध्यक्ष साउँदले बताए । आँखाको उपचारका लागि टाढा जानुपर्ने बाध्यता रही आएकाले गाउँपालिकाबासीहरुलाई स्थानीयस्तरमै सेवा दिइएको उनले बताए ।
सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय सरकारहरुसंग मिलेर निशुल्क आँखा शिविरको आयोजना गरिँदै आएको धनगढी नेत्रालयका अध्यक्ष गजेन्द्रबहादुर चन्दले बताए । यसअघि बैतडीको पुर्चौंडीमा शिविरको आयोजना गरिएको उनले बताए ।
गाउँघरमै आँखाको शल्यक्रिया गरेर आँखाको ज्योति फर्किएपछि स्थानीय नागरिक खुसी भएका छन् । ८० बर्षको उमेरमा आँखाको ज्योति फर्किएपछि पञ्चेश्वर गाउँपालिका –४ की पशुपचित ओडले आफूलाई निकै खुसी लागेको बताइन् । बुढेसकालमा आँखाको ज्योति फर्किएपछि आफू निकै खुसी भएको सोही ठाउँका चिमाराम ओडले बताए ।
शिविरमा शिवनाथका मात्रै नभएर मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिकाका नागरिकहरुले समेत सेवा लिएका शिवनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताए ।