
बैतडी–बैतडीमा जनप्रतिनिधिहरुलाई आयुर्वेद सेवाका बारेमा जानकारी गराउन थालिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीले आयुर्वेद सेवाका बारेमा जानकारी गराउन थालेको हो ।
शनिबार पाटन नगरपालिकाका जनप्रतिनिधिहरुलाई आयुर्वेद सेवाका बारेमा जानकारी दिइएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीका प्रमुख हिक्मतबहादुर चन्दले बताए । केन्द्रले जनप्रतिनिधिहरुलाई आयुर्वेद सेवाका बिषयमा जानकारी दिएको र यसले आयुर्वेद सेवा विस्तारमा सहयोग पुग्ने चन्दले बताए ।
आयुर्वेद उपचार पद्दति र यसले जीवनशैलीमा ल्याउने सकारात्मक परिवर्तनका बिषयमा अभिमुखीकरण कार्यक्रममा छलफल भएको चन्दले बताए ।
अभिमुखीकरण कार्यक्रममा पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावल, उपप्रमुख कमलसिंह बोहरा, वडा अध्यक्ष, कार्यपालिका सदस्य लगायतका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा खानपीन र आहारविहार, पूर्वकर्म र पञ्चकर्म, जीवनशैली परिवर्तन, नसर्ने रोगको जोखिम र बच्ने उपायका बिषयमा जानकारी दिइएको चन्दले बताए ।
पछिल्लो समयमा नसर्ने रोगहरु जनस्वास्थ्यको विकराल समस्या बनिरहेको र यस्ता रोगहरुबाट मुक्ति पाउन आयुर्वेदिक उपचार पद्दति निकै लाभदायक रहेको आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख चन्दले बताए ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले आयुर्वेद स्वास्थ्य सेवाका बिषयमा विभिन्न पक्षहरुलाई जानकारी गराउने गरेको चन्दले बताए । आयुर्वेद उपचारपद्दतिबाट विभिन्न रोगहरु निको हुने भएकाले यो पद्दति अपनाउनुपर्नेमा उनले जोड दिए ।