Sagun Khabar
बैतडीका पालिकामा स्वास्थ्य बीमा संयोजन समिति गठन गरिँदै

 बैतडी–बैतडीका पालिकाहरुमा स्वास्थ्य बीमा संयोजन समिति गठन गर्ने कार्य भइरहेको छ । 

स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय तहहहरुमा स्वास्थ्य बीमा संयोजन समिति गठन गर्ने कार्य भइरहेको स्वास्थ्य बीमा सम्पर्क कार्यालय बैतडीका प्रमुख जमनसिंह बडालले बताए । 

Atrya hospital

जिल्लाको दशरथचन्द नगरपालिका र डिलाशैनी गाउँपालिकामा यसअघि नै बीमा संयोजन समिति गठन गरिएको थियो । यो हप्ता मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा स्वास्थ्य बीमा संयोजन समिति गठन गरिएको बडालले बताए । 

सम्बन्धित स्थानीय तहका प्रमुख तथा अध्यक्षको संयोजकत्वमा समिति गठन गर्ने प्रावधान रही आएको र सोही अनुसार पालिकाहरुमा समिति गठन गर्ने काम भइरहेको स्वास्थ्य बीमा सम्पर्क कार्यालय बैतडीका दर्ता अधिकारी अनिलचन्द्र जोशीले बताए । 

स्वास्थ्य बीमामा आवद्ध भएका नागरिकको सहजता र स्वास्थ्य बीमामा आम नागरिकको पहुँच पुर्याउन स्थानीय तहमा बीमा संयोजनक समिति गठन गर्ने कार्य भइरहेको हो । जिल्लाका बाँकी ५ ओटा स्थानीय तहमा पनि छिट्टै समिति गठन गर्ने तयारी भएको दर्ता अधिकारी जोशीले बताए । 

बैतडीमा २९ हजार ८३ परिवारका ५२ हजार जना स्वास्थ्य बीमामा आवद्ध भएका छन् । स्वास्थ्य बीमामा आवद्ध हुँदा ५ जना सम्म सदस्य भएको परिवारले ३ हजार ५ सय रुपैयाँ प्रिमियम तिरेपछि एक बर्षका लागि १ लाख सम्मको उपचार निशुल्क रुपमा पाउने गरेका छन् । स्वास्थ्य बीमाको सेवा निरन्तर रुपमा पाउन हरेक बर्ष बीमा नवीकरण गर्नुपर्ने प्रावधान रही आएको बडालले बताए । 

५ जना भन्दा बढीको स्वास्थ्य बीमा गर्न चाहे प्रति थप सदस्य ७ सयका दरले थप प्रिमियम तिर्नुपर्ने र उनीहरुले प्रति थप सदस्य २० हजारका दरले उपचार सेवा पाउने बडालले बताए । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  ०९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update