Sagun Khabar
बैतडीको पाटनमा स्वास्थ्य बीमा संयोजन समिति गठन 

बैतडी–बैतडीको पाटन नगरपालिकामा स्वास्थ्य बीमा संयोजन समिति गठन गरिएको छ । 

नगरपालिकामा आज एक कार्यक्रमको आयोजना गरेर स्वास्थ्य बीमा संयोजन समिति गठन गरिएको स्वास्थ्य बीमा सम्पर्क कार्यालय बैतडीका प्रमुख जमनसिंह बडालले बताए । स्थानीय तहहरुमा स्वास्थ्य बीमा संयोजनक गठन गर्ने क्रममा आज पाटनमा गठन गरिएको उनले बताए । 

Atrya hospital

नगर प्रमुख गौरीसिंह रावलको अध्यक्षतामा गठन भएको बीमा संयोजन समितिले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि पहल गर्ने बताइएको छ । नगर क्षेत्रभित्रका बीमामा आवद्ध भएका नागरिकहरुलाई सहज रुपमा सेवा प्राप्तिका लागि संयोजन समितिले काम गर्ने स्वास्थ्य बीमा सम्पर्क कार्यालय बैतडीका दर्ता अधिकारी अनिलचन्द्र जोशीले जानकारी दिए । 

यो संगै बैतडीका ६ ओटा स्थानीय तहमा स्वास्थ्य बीमा संयोजन समिति गठन गरिसकिएको छ । जिल्लाको दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका, पाटन नगरपालिका,  डिलाशैनी गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा संयोजन समिति गठन गरिसकिएको दर्ता अधिकारी जोशीले बताए । 

स्वास्थ्य बीमामा आवद्ध भएका नागरिकको सहजता र स्वास्थ्य बीमामा आम नागरिकको पहुँच पुर्याउन स्थानीय तहमा बीमा संयोजनक समिति गठन गर्ने कार्य भइरहेको हो । 

बैतडीमा २९ हजार ८३ परिवारका ५२ हजार जना स्वास्थ्य बीमामा आवद्ध भएका छन् । स्वास्थ्य बीमामा आवद्ध हुँदा ५ जना सम्म सदस्य भएको परिवारले ३ हजार ५ सय रुपैयाँ प्रिमियम तिरेपछि एक बर्षका लागि १ लाख सम्मको उपचार निशुल्क रुपमा पाउने गरेका छन् । 

स्वास्थ्य बीमाको सेवा निरन्तर रुपमा पाउन हरेक बर्ष बीमा नवीकरण गर्नुपर्ने प्रावधान रही आएको बडालले बताए । ५ जना भन्दा बढीको स्वास्थ्य बीमा गर्न चाहे प्रति थप सदस्य ७ सयका दरले थप प्रिमियम तिर्नुपर्ने र उनीहरुले प्रति थप सदस्य २० हजारका दरले उपचार सेवा पाउने बडालले बताए । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १८:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update