Sagun Khabar
बैतडीमा कक्षा १२ को परीक्षाको तयारी पूरा, ४ हजार बढी परीक्षार्थी सहभागी हुँदै 

बैतडी–आइतबारदेखि शुरु हुने कक्षा १२ को परीक्षाको बैतडीमा सबै तयारी पूरा भएको छ । 

कक्षा १२ को परीक्षाका लागि यो बर्ष बैतडीमा १९ ओटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । नियमित तथा आंशिक परीक्षार्थीहरुका लागि १८ ओटा केन्द्र निर्धारण भएका छन् भने मौका परीक्षामा सहभागी हुनेहरुका लागि विरेन्द्र मावि शाहीलेकलाई केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्कर शर्माले बताए । 

राष्ट्रिय परीक्षा बोर्डले २०५६ सालदेखि २०७७ सालसम्म भर्ना भएका विद्यार्थीहरुका लागि एकपटक मौका परीक्षा दिने व्यवस्था यो बर्ष गरेको राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय डडेल्धुराका कार्यालय प्रमुख नारायणदत्त भट्टले बताए । उनीहरुको परीक्षा भने जेठ ४ गतेदेखिमात्रै शुरु हुने उनले बताए । 

बैतडीमा यो बर्ष नियमिततर्फ ३ हजार २ सय ९७ र आंशिकतर्फ ९ सय ७१ जना गरेर ४ हजार २६८ जना परीक्षार्थी परीक्षामा सहभागी हुने कार्यालय प्रमुख भट्टले बताए । 

आइतबारदेखि शुरु हुने परीक्षाका लागि सबै केन्द्रमा केन्द्राध्यक्षहरु पुगिसकेका र परीक्षालाई मार्यादित तथा भयरहित वातावरणमा सञ्चालन गर्न सबै तयारी पूरा भइसकेको जिल्ला परीक्षा समन्वय समितिले जनाएको छ । 

परीक्षा बिहान ८ बजेदेखि शुरु हुने बताइएको छ । यसअघि बोर्डले कक्षा १२ को परीक्षा गत वैशाख ११ गतेदेखि गर्ने निर्धारण गरेको थियो । नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण परीक्षाको मिति सारिएको थियो ।

देशभर १५ सय ९० परीक्षा केन्द्रबाट करिब पाँच लाख पचास हजार विद्यार्थी आइतबारदेखि हुने परीक्षामा सहभागी हुने छन् ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update