
बैतडी –विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बैतडीमा कैदीबन्दीहरुलाई पुस्तक वितरण गरिएको छ ।
नेपाल पत्रकार महासंघ शाखा बैतडीले कारागार कार्यालय बैतडीमा एक कार्यक्रमको आयोजना गरेर कैदीबन्दीहरुलाई विभिन्न पुस्तक वितरण गरेको नेपाल पत्रकार महासंघ बैतडीका अध्यक्ष नरीदत्त बडूले बताए ।
भागवत गीता, चारओटै वेदको नेपाली सारांश, चाणक्य नीति लगायतका धार्मिक ग्रन्थ, ज्ञानवद्र्धक उपन्यास र जिवनी समेटिएका पुस्तकहरु वितरण गरिएका उनले बताए ।
यस्तै दिवसको अवसरमा अभिव्यक्ति स्वतन्त्रताका बिषयमा अन्तरक्रियाको समेत आयोजना गरिएको अध्यक्ष बडूले बताए ।
उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ बैतडीका पदाधिकारी, संविधान सभा सदस्य नरेन्द्र कुँवर, प्रमुख जिल्ला अधिकारी, नेपाली कांग्रेस बैतडीका सहसचिव दिपेन्द्रबहादुर चन्द लगायत सरोकारवाला व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा स्थानीय प्रशासन सदैव सकारात्मक रहेको बताए । यस्तै कारागार कार्यालयमा देखिएको खानेपानी लगायतका समस्या समाधानका लागि पहल गर्ने आश्वासन समेत दिए ।
अन्तरक्रियामा बोल्दै संविधान सभा सदस्य कुँवरले लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि स्वतन्त्र प्रेस आवश्यक रहेको बताए । सञ्चारमाध्यमले खोजमूलक सामग्री पस्कनुका साथै जनताका आवाज उजागर गर्नुपर्नेमा उनले जोड दिए ।
यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका बैतडीका सहसचिव दिपेन्द्रबहादुर चन्दले लोकतन्त्र र स्वतन्त्र प्रेस एकअर्काका परिपूरक भएको बताए । प्रेस स्वतन्त्रता भएमात्रै लोकतन्त्र फस्टाउने भन्दै उनले निष्पक्ष प्रेस आवश्यक रहेको बताए ।