Sagun Khabar
बैतडीका ६ पालिकामा स्वास्थ्य बीमा संयोजन समिति गठन 

बैतडी –बैतडीका ६ ओटा पालिकामा स्वास्थ्य बीमा संयोजन समिति गठन गरिएको छ । स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय तहमा बीमा संयोजन समिति गठन गर्ने कार्य भइरहेको स्वास्थ्य बीमा सम्पर्क कार्यालय बैतडीका प्रमुख जमनसिंह बडालले बताए । 

जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, मेलौली नगरपालिका, डिलाशैनी गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा स्वास्थ्य बीमा संयोजन समिति गठन गरिएको बडालले बताए । 

Atrya hospital

सम्बन्धित स्थानीय तहको प्रमुख तथा अध्यक्षको संयोजकत्वमा बीमा संयोजन समिति गठन गर्ने प्रावधान रही आएको स्वास्थ्य बीमा सम्पर्क कार्यालयका दर्ता अधिकारी अनिलचन्द्र जोशीले जानकारी दिए । उक्त समिति जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहने गर्दछ । 

स्वास्थ्य बीमामा आवद्ध भएका नागरिकहरुलाई सहज रुपमा सेवा उपलब्ध गराउने, स्वास्थ्य बीमामा आवद्ध हुन चाहने नागरिकलाई आवद्धताका लागि सहजीकरण गर्ने लगायतका उद्देश्यले स्थानीय तहमा स्वास्थ्य बीमा संयोजन समिति गठन गर्ने कार्य भइरहेको बडालले बताए । 

बैतडीमा २९ हजार ८३ परिवारका ५२ हजार जना स्वास्थ्य बीमामा आवद्ध भएका छन् । स्वास्थ्य बीमामा आवद्ध हुँदा ५ जना सम्म सदस्य भएको परिवारले ३ हजार ५ सय रुपैयाँ प्रिमियम तिरेपछि एक बर्षका लागि १ लाख सम्मको उपचार निशुल्क रुपमा पाउने गरेका छन् । 

स्वास्थ्य बीमाको सेवा निरन्तर रुपमा पाउन हरेक बर्ष बीमा नवीकरण गर्नुपर्ने प्रावधान रही आएको बडालले बताए । ५ जना भन्दा बढीको स्वास्थ्य बीमा गर्न चाहे प्रति थप सदस्य ७ सयका दरले थप प्रिमियम तिर्नुपर्ने र उनीहरुले प्रति थप सदस्य २० हजारका दरले उपचार सेवा पाउने बडालले बताए ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  ०८:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update