
बैतडी–बैतडीको सुर्नया गाउँपालिकाले स्वास्थ्य कार्यक्रमहरुको समीक्षा गरेको छ ।
आइतबार गाउँपालिका जनप्रतिनिधि, स्वास्थ्य संस्थाका प्रमुख,स्वास्थ्य कार्यालयका प्रतिनिधि र अन्य सरोकारवालाहरुको उपस्थितीमा स्वास्थ्य कार्यक्रमहरुको अर्धबार्षिक समीक्षा सम्पन्न गरिएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए ।
समीक्षामा गएको दुई बर्ष यता सञ्चालन भएका कार्यक्रमहरुको तुलना गर्नुका साथै चालु आर्थिक बर्षको ६ महिनामा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमको प्रगतिका बिषयमा छलफल भएको स्वास्थ्य शाखा प्रमुख महराले बताए ।
समीक्षामा गाउँपालिकामा खोप कार्यक्रम, क्षयरोग कार्यक्रम, परिवार नियोजन कार्यक्रम लगायतका कार्यक्रमहरुमा सुधार आएको पाइएको छ ।
गाउँघर क्लिनिक, खोप क्लिनिकका लागि आवश्यक भौतिक पूर्वाधार नहुँदा सञ्चलानमा केही कठीनाइ आएको स्वास्थ्य शाखा प्रमुख महराले बताए ।
चालु आर्थिक बर्षमा पालिकामा सञ्चालन भएका स्वास्थ्य कार्यक्रम, देखिएको समस्या र समाधानका उपायका बिषयमा पनि छलफल भएको छ ।
अर्धबार्षिक समीक्षा कार्यक्रममा बोल्दै सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले स्वास्थ्य कार्यक्रमहरुलाई प्रभावकारी बनाउन पालिकाले पहल गरिरहेको बताए । स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी बजेट ल्याउने उनले दाबी गरे ।