
बैतडी–निशुल्क शिक्षासम्बन्धी व्यवस्था कार्यान्वयनको माग गर्दै नेपाल विद्यार्थी संघले ज्ञापन पत्र बुझाएको छ ।
बैतडीका सामुदायिक विद्यालयहरुले विभिन्न तवरले अझै पनि शुल्क लिइरहेको भन्दै नेविसंघ कार्यवाहक अध्यक्ष अमरबहादुर टेर नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालयका साथै अन्य सरोकारवाला कार्यालयहरुमा सोमबार ज्ञापन पत्र बुझाएको हो ।
अनिवार्य तथा निशुल्क शिक्षासम्बन्धी संविधानमै भएको व्यवस्था पूर्ण रुपमा कार्यान्वयन हुनुपर्ने माग गर्दै शिक्षा विकास तथा समन्वय इकाइ, दशरथचन्द नगरपालिकाको शिक्षा शाखा, वडा कार्यालयहरुमा समेत ज्ञापन पत्र बुझाएको नेविसंघ बैतडीका कार्यवाहक अध्यक्ष अमरबहादुर टेरले बताए ।
जिल्लाका धेरैजसो ठाउँमा सामुदायिक विद्यालयहरुले विभिन्न नाममा शुल्क लिइरहेकाले त्यस्तो शुल्क नलिने वातावरण बनाउन सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराइएको कार्यवाहक अध्यक्ष टेरले बताए ।
नियम विपरीत सामुदायिक विद्यालयहरुले शुल्क लिइरहेकाले त्यस्तो शुल्क नरोके नेविसंघले आन्दोलन गर्ने ज्ञापनपत्रमार्फत चेतावनी समेत दिइएको छ ।