
बैतडी–बैतडीको सुर्नया गाउँपालिकामा स्वास्थ्य बीमा संयोजन समिति गठन गरिएको छ ।
गाउँपालिकामा आइतबार एक कार्यक्रमको आयोजना गरेर स्वास्थ्य बीमा संयोजन समिति गठन गरिएको स्वास्थ्य बीमा सम्पर्क कार्यालय बैतडीका प्रमुख जमनसिंह बडालले बताए । स्थानीय तहहरुमा स्वास्थ्य बीमा संयोजन समिति गठन गर्ने क्रममा सुर्नया गाउँपालिकामा पनि उक्त समिति गठन गरेको बताइएको छ ।
गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरको अध्यक्षतामा गठन भएको बीमा संयोजन समितिले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि पहल गर्ने बताइएको छ । गाउँपालिका क्षेत्रभित्रका बीमामा आवद्ध भएका नागरिकहरुलाई सहज रुपमा सेवा प्राप्तिका लागि संयोजन समितिले काम गर्ने स्वास्थ्य बीमा सम्पर्क कार्यालय बैतडीका दर्ता अधिकारी अनिलचन्द्र जोशीले जानकारी दिए ।
यो संगै बैतडीका ८ ओटा स्थानीय तहमा स्वास्थ्य बीमा संयोजन समिति गठन गरिसकिएको छ । जिल्लाको दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका, पाटन नगरपालिका, डिलाशैनी गाउँपालिका, शिवनाथ गाउँपालिका, दोगडाकेदार गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र सुर्नया गाउँपालिकामा संयोजन समिति गठन गरिसकिएको दर्ता अधिकारी जोशीले बताए ।
अब जिल्लाको पुर्चौंडी नगरपालिका र सिगास गाउँपालिकामा मात्रै स्वास्थ्य बीमा संयोजन समिति गठन गर्न बाँकी रहेको छ । यी दुवै पालिकामा पनि छिट्टै बीमा संयोजन समिति गठन गरिने कार्यालय प्रमुख बडालले बताए ।
स्वास्थ्य बीमामा आवद्ध भएका नागरिकको सहजता र स्वास्थ्य बीमामा आम नागरिकको पहुँच पुर्याउन स्थानीय तहमा बीमा संयोजन समिति गठन गर्ने कार्य भइरहेको हो ।
बैतडीमा २९ हजार ८३ परिवारका ५२ हजार जना स्वास्थ्य बीमामा आवद्ध भएका छन् । स्वास्थ्य बीमामा आवद्ध हुँदा ५ जना सम्म सदस्य भएको परिवारले ३ हजार ५ सय रुपैयाँ प्रिमियम तिरेपछि एक बर्षका लागि १ लाख सम्मको उपचार निशुल्क रुपमा पाउने गरेका छन् ।
स्वास्थ्य बीमाको सेवा निरन्तर रुपमा पाउन हरेक बर्ष बीमा नवीकरण गर्नुपर्ने प्रावधान रही आएको बडालले बताए । ५ जना भन्दा बढीको स्वास्थ्य बीमा गर्न चाहे प्रति थप सदस्य ७ सयका दरले थप प्रिमियम तिर्नुपर्ने र उनीहरुले प्रति थप सदस्य २० हजारका दरले उपचार सेवा पाउने बडालले बताए ।
स्वास्थ्य बीमामा आवद्ध भएका नागरिकहरुलाई निशुल्क रुपमा स्वास्थ्य सेवा प्राप्तिका लागि तीनओटा अस्पतालहरुलाई सूचीकृत गरिएको छ । जिल्ला अस्पताल बैतडी, प्राथमिक स्वास्थ्य केन्द्र पाटन र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई सूचीकृत संस्थाको रुपमा राखिएको बडालले बताए ।