Sagun Khabar
बैतडीका दुई पालिकामा ‘वास फिट’कार्यक्रम लागू 

बैतडी–बैतडीका दुई पालिकामा खानेपानी,सरसफाइ,स्वच्छता र स्वास्थ्यजन्य फोहर व्यवस्थापन (वास फिट) कार्यक्रम लागू भएको छ ।  

यो कार्यक्रम बैतडीसहित सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा पनि लागू भएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले बताए । बैतडीमा दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा यो कार्यक्रम लागू भएको उनले बताए । 

Atrya hospital

यो कार्यक्रम अन्तर्गत स्वास्थ्य संस्थाहरुले आफ्नो क्षेत्रमा खानेपानी, सरसफाइ र स्वास्थ्यजन्य फोहर व्यवस्थापनको अवस्थाका बारेमा अनलाइन प्रणालीमार्फत जानकारी गराउने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताए । स्वास्थ्य संस्थाहरुको स्वमूल्यांकन गरी सुधारका लागि पहल गरिने उनले बताए ।

कार्यक्रम लागू भएका पालिकाहरुका स्वास्थ्य संस्थाहरूले आफ्नो स्वास्थ्य संस्थामा स्वास्थ्यजन्य फोहोर व्यवस्थापनको अवस्थाका बारेमा एउटा टोली गठन गरेर स्वमूल्यांकन गर्नेछन्  । उक्त मूल्यांकनबाट पत्ता लागेका समस्या समाधानका लागि कार्ययोजना बनाएर लागू गर्ने सूचना अधिकारी लेखकले बताए । 

यो कार्यक्रमले स्वास्थ्य संस्थाहरूमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ । 

कार्यक्रमलाई प्रभावकारी बनाउन दशरथचन्द नगरपालिका र पाटन नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुसंग अन्तरक्रिया समेत सम्पन्न गरिएको स्वास्थ्य प्रमुख भट्टले बताए । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update