
बैतडी–बैतडीको पाटन नगरपालिका –८ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ ।
पूर्ण खोप सुनिश्चित घोषणाका लागि निर्धारण गरिएका सबै सुचक पूरा भएपछि आइतबार वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको हो ।
जन्मेदेखि १५ महिनामुनिका ७० जना बालबालिका र १५ महिनादेखि ५ बर्ष मुनिका १ सय ७१ जना बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने सबै खोप पाएपछि वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको सिद्धेश्वर स्वास्थ्यचौकीका प्रमुख जयराज भट्टले बताए ।
यसअघि वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणाका लागि घरघरमै पुगेर बालबालिकाहरुले खोप पाए÷नपाएको एकीन गरिएको थियो । वडाभित्रका सबै बालबालिकाहरुले खोप पाएको एकीन भएपछि वडालाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको भट्टले बताए ।
आगामी दिनमा पनि पूर्णखोपलाई निरन्तरता दिने सरोकारवालाहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । बालबालिकाहरुलाई विभिन्न रोगबाट बचाउनका लागि १३ प्रकारका खोप दिने गरिएको छ ।
पाटन नगरपालिका –८ का वडा अध्यक्ष हरिश बिष्ट, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र अन्य सरोकारवालाहरुको उपस्थितीमा वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको हो ।