
बैतडी–कर्मचारीहरु आन्दोलनमा उत्रेपछि बैतडीका स्थानीय तहहरुले सेवा प्रभावित भएको जनाएका छन् ।
स्थानीय सेवा ऐन जारी गर्नुपर्ने भन्दै कर्मचारीहरु चरणबद्ध आन्दोलनमा उत्रेका छन् । सुदूरपश्चिमका अन्य जिल्लाजस्तै बैतडीका स्थानीय तहहरुमा सेवा प्रभावित भएको सम्बन्धित पालिकाहरुले जनाएका छन् ।
बैतडीका गाउँपालिका तथा नगरपालिकाहरुले सूचना जारी गर्दै कर्मचारीहरुको आन्दोलनका कारण सेवा प्रभावित भएको उल्लेख गरेका छन् ।
जिल्लाको मेलौली नगरपालिकाले एक सूचना प्रकाशित गर्दै स्थानीय सेवाका कर्मचारीहरुको संघर्षका कारण नगरपालिकाले प्रदान गर्ने सेवा उल्लेख गरेको छ । प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर चन्दद्वारा हस्ताक्षरित सूचनामा नगरपालिकाबाट अत्यावश्यक बाहेकका सेवा अवरुद्ध भएको जनाएको छ ।
स्थानीय सेवा ऐन चाँडो जारी गर्नुपर्ने मागसहित कर्मचारीहरु आन्दोलनमा उत्रेपछि नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा दिन नसकेको पुर्चौंडी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार कुँवरले बताए ।
यस्तै डिलाशैनी गाउँपालिकाले पनि एक सूचना जारी गर्दै कर्मचारीहरुको आन्दोलनका कारण सेवा प्रभावित भएको जनाएको छ ।
जिल्लाको सुर्नया गाउँपालिकाले पनि कर्मचारीहरुको आन्दोलनका कारण अत्यावश्यक बाहेकका सेवाहरु बन्द भएको जनाएको छ । यसैगरी दोगडाकेदार गाउँपालिका, दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाले पनि सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सेवा बन्द भएको जनाएका छन् ।
सुदूरपश्चिममा मात्रै स्थानीय सेवा ऐन जारी नभएको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रेका छन् । ऐन जारी नहुँदा कर्मचारीहरुको वृतिविकासमा असर परेको सिगास गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेशप्रसाद भट्टले जानकारी दिए ।