Sagun Khabar
बैतडीका गणेश महराको शंकास्पद मृत्यु, घटनाको छानबीन गर्न माग 

बैतडी–बैतडीमा एक जनाको शंकास्पद मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका–८ राङ्गाजुजौनाका ४५ बर्षीय गणेश महराको शंकास्पद मृत्यु भएको हो । उनी चालक समेत रहेका थिए । 

वैशाख २ गते चोटपटक लागेका महरालाई ११ दिनपछि मात्रै अस्पताल भर्ना गरिएको थियो । वैशाख २ गते साथीभाइसंगै मदिरा सेवन गरेका उनलाई कसरी चोट लाग्यो भन्ने एकीन कारण खुल्न नसकेको पाटन नगरपालिका –८ का वडा सदस्य कृष्ण महराले बताए । 

Atrya hospital

वैशाख १३ गते उनलाई धनगढीको मायामेट्रो अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि सारथी अस्पताल हुँदै सेती प्रादेशिक अस्पतालमा उनलाई भर्ना गरिएको थियो । 

महराको उपचार सम्भव नभएपछि सोमबारमात्रै अस्पतालबाट घर ल्याइएको थियो । सोमबार राति नै उनको मृत्यु भएको वडा सदस्य महराले बताए । 

मृतकका आफन्तले कुटपीटबाटै महरालाई चोट लागेको र त्यसैबाट मृत्यु भएको परिवारजनको आरोप छ । घटनाको निष्पक्ष छानबीन हुनुपर्ने परिवारजनले माग गरेका छन् । 

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । मृतक महराको घरमा एक छोरा, दुई छोरी र श्रीमती रहेका छन् । 

आफन्तहरुले महरालाई कुटपीट भएको भन्ने कुरा गरेपछि शवको पोष्टमार्टम गर्न लागिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए । जाहेरी आएपछिमात्रै घटनाका बिषयमा थप अनुसन्धान अगाडि बढ्ने उनले बताए ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update